ईश्वरी थापा
काठमाडौं-नेपाल ट्रेड युनियन महासंघ -जिफन्ट, IDWF र GTZ को संयुक्त आयोजनामा आप्रवासी घरेलु कामदारको अधिकारलाई केन्द्रमा राखी २ दिने कार्यशाला गोष्ठी काठमाडौंमा सम्पन्न भएको छ ।
गोष्ठीमा जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले घरेलु श्रमिकको अवस्था अझै कमजोर रहेको उल्लेख गर्दै उनीहरूको मर्यादित काम सुनिश्चित गर्न कानुनी व्यवस्था मात्र पर्याप्त नभई व्यवहारमा प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै घरेलु श्रमिक श्रम क्षेत्रकै सबैभन्दा बढी पीडित समूह भएकाले उनीहरूको हकहितका लागि सबै सरोकारवाला निरन्तर संघर्षशील हुनुपर्ने बताए ।
यहाँ आयोजित कार्यशालामा आगामी मे ४ देखि ८ सम्म United Nations को International Migration Review Forum -IMRF न्यूयोर्कमा हुने सन्दर्भमा आप्रवासी घरेलु कामदारका मुद्दालाई अन्तर्राष्ट्रिय स्तरमा सशक्त रूपमा उठाउने, संगठित वकालत गर्ने तथा सञ्जाल विस्तार गर्ने विषयमा व्यापक छलफल भएको थियो । यस्तै
गोष्ठीमा आप्रवासी घरेलु श्रमिक, जिफन्ट, ITUC, GEFONT–Migrant Desk, NNMS, SARTUC, ILO लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । विशेषगरी ट्रेड युनियनहरूले महिला तथा कुवेत, बहराइन, अमेरिका, इन्डिया लगायतका अन्तर्राष्ट्रिय मुद्दाहरूलाई IMRF मा समावेश गराउन तथा नव निर्वाचित नेपाल सरकारसमक्ष आप्रवासी घरेलु कामदारका समस्याहरू समाधानका लागि प्रभावकारी भूमिका निर्वाह गर्न दबाब दिने निर्णय गरेका छन् ।
सो कार्यक्रमको सञ्चालन “हुन” प्रतिनिधि परिषद प्रमुख चन्द्रसागर लामाले गरेका थिए भने “हुन” केन्द्रीय सदस्य निर्मला घिमिरे ढकालले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । यस्तै IDWF का सदस्य Jec Sernande -जेक सेर्नान्डे, IDWF एशिया क्षेत्रीय संयोजक फिश आईपी तथा GTZ का सल्लाहकार सौरभ कोइराला लगायतले आप्रवासी घरेलु श्रमिकका विषयमा आ-आफ्ना गहन धारणा प्रस्तुत गरेका थिए ।

