उदयपुर – उदयपुरको चौदण्डीगढी नगरपालिका–७ स्थित सितापाइला टोलमा छिमेकीबीचको विवादका क्रममा एक वृद्धको हत्या भएको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ७३ वर्षीय रामप्रसाद राईले सोही स्थानका ६४ वर्षीय माहाशेर राईमाथि धारिलो हतियार प्रहार गर्दा उनको मृत्यु भएको हो। घटना गएराति करिब सवा ८ बजे भएको जनाइएको छ।
प्रहरीका अनुसार सामान्य छरछिमेक सम्बन्धी विवाद चर्किँदा आवेगमा आक्रमण गरिएको थियो। हतियार प्रहारबाट माहाशेर राईको छातीको दायाँ माथिल्लो भागमा गम्भीर चोट लागेको थियो।
घाइतेलाई उपचारका लागि बेल्टारस्थित नगर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको र अस्पताल पुग्नेबित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनालगत्तै इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी निरीक्षक प्रभात लक्सम लिम्बू नेतृत्वको टोलीले आरोपित रामप्रसाद राईलाई पक्राउ गरेको छ। उनलाई हाल प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

