काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले रामेछाप जिल्ला कार्यसमितिका सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) सँग स्पष्टीकरण माग गरेको छ।
पदीय जिम्मेवारी र मर्यादा विपरीत पार्टी तथा नेतृत्वप्रति बदनियत राख्दै भ्रामक र आधारहीन अभिव्यक्ति दिएको आरोपमा उनलाई स्पष्टीकरण सोधिएको समितिले जनाएको छ।
सोमबार बसेको केन्द्रीय अनुशासन समितिको बैठकले नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित)को धारा ३४ को उपधारा ८ (घ) अनुसार तीन दिनभित्र जवाफ पेश गर्न निर्देशन दिने निर्णय गरेको हो।
अनुशासन समितिका सचिव दिनेश थापामगरले जारी गरेको विज्ञप्तिमार्फत तामाङलाई स्पष्टिकरण सोधिएको जानकारी दिइएको हो।

