काठमाडौं- सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको पुथालामा जन्ती बोकेको जिप दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ४ पुगेको छ। मृतक सबै सोही नगरपालिका–८ का बासिन्दा रहेका छन्।
कालीमाटीस्थित लक्ष्मीपुरतर्फ जन्ती लिएर जाँदै गरेको लु.प्र.०१००१ ज ०२७१ नम्बरको जिप शनिबार साँझ दुर्घटनामा परेको हो। पछिल्लो पटक ३० वर्षीय मनबहादुर थापाको मेहेलकुनामा उपचारका क्रममा मृत्यु भएपछि मृतक संख्या ४ पुगेको जिल्ला प्रहरी कार्यालय सल्यानका इन्सपेक्टर देवराज भट्टराईले जानकारी दिएका छन्।
यसअघि सोही वडाका ५० वर्षीय टोपबहादुर थापा, ५० वर्षकै ठगे घर्ती र २९ वर्षीय कर्णबहादुर पुनको घटनास्थलमै ज्यान गएको थियो।
वडानम्बर ८ का वडाध्यक्ष कुलबहादुर पुरीका अनुसार जिपमा १८ जना सवार थिए, जसमध्ये १४ जना घाइते भएका छन्। घाइतेहरूको उद्धार गरी सुर्खेतको मेहेलकुना अस्पताल लगिएको थियो।
प्रहरीका अनुसार घाइतेमध्ये ८ जनाको नर्सिङ होममा, २ जनाको न्युरो अस्पतालमा उपचार भइरहेको छ भने अन्यलाई थप उपचारका लागि बाँके पठाइएको छ।

