– धनकुमार श्रेष्ठ
समाजलाई सभ्य, सुसंस्कृत र उदाहरणीय बनाउने हाम्रो साझा चाहनालाई अझ प्रभावकारी र परिणाममुखी बनाउन स्थानीय टोल विकास संस्थाहरूसँग सहकार्य र हातेमालो अपरिहार्य भइसकेको छ। किनकि टोल विकास संस्था भनेको केवल एउटा औपचारिक संरचना मात्र होइन, यो समुदायको मुटु हो
जहाँबाट स्थानीय बासिन्दाहरूको भावना, आवश्यकता र सक्रियता एकै ठाउँमा अभिव्यक्त हुन्छ।
टोल विकास संस्थाहरू समुदायका प्रत्यक्ष सरोकार राख्ने व्यक्तिहरूको साझा थलो हुन्। यही थलोमा बसेर समाजका साना-ठूला समस्या पहिचान गर्न, समाधानका उपायहरू खोज्न र सामूहिक निर्णय गर्न सहज हुन्छ। स्थानीय स्तरमा जनचेतना फैलाउने, सामाजिक एकता मजबुत बनाउने, विकास निर्माणका कार्यहरू अघि बढाउने, सूचना प्रवाह गर्ने तथा विविध रचनात्मक गतिविधिहरू सञ्चालन गर्ने सशक्त माध्यमका रूपमा टोल विकास संस्थाहरू स्थापित भएका छन्।
विशेषगरी, आजको डिजिटल युगमा घट्दो पठन संस्कृतिलाई पुनर्जागृत गर्न पनि टोल विकास संस्थाहरू महत्वपूर्ण आधार बन्न सक्छन्। पुस्तक पढ्ने बानीको विकास कुनै ठूलो अभियानबाट मात्र सम्भव हुँदैन; यसको थालनी सानो तह
टोलबाटै हुनुपर्छ। टोलमा साना पुस्तकालय स्थापना गर्ने, “पुस्तक-चक्र (Book Circle)” सञ्चालन गर्ने, नियमित पठन-पाठन कार्यक्रमहरू आयोजना गर्ने, बालबालिका तथा युवाहरूलाई पुस्तकप्रति आकर्षित गर्ने जस्ता गतिविधिहरू यही माध्यमबाट प्रभावकारी रूपमा सञ्चालन गर्न सकिन्छ।
यसरी टोल विकास संस्थालाई सामाजिक रूपान्तरणको केन्द्रका रूपमा विकास गर्न सकेमा मात्र हामीले चाहेको सभ्य, सुसंस्कृत र उदाहरणीय समाज निर्माणको सपना साकार पार्न सक्छौं। त्यसैले “टोल विकास संस्थासँग सहकार्य, समुदायसँग सहअस्तित्व, र पुस्तकसँग आत्मीयता” भन्ने मूलमन्त्रलाई आत्मसात गर्दै मानवीय सम्बन्धलाई अझ प्रगाढ बनाउने, आपसी समझदारीको विकास गर्ने तथा सामाजिक सद्भाव र भाइचारालाई थप सुमधुर बनाउने दिशामा अघि बढ्न आवश्यक छ।
अन्ततः, यस अभियानलाई सफल बनाउन राज्यका निकायहरू, स्थानीय सरकार, सामाजिक संघ-संस्था, शिक्षण संस्थाहरू तथा सम्पूर्ण सरोकारवालाहरूको सक्रिय सहभागिता र प्रतिबद्धता अपरिहार्य छ। अबको आवश्यकता भनेकै टोलबाटै परिवर्तन सुरु गर्ने, समुदायलाई सशक्त बनाउने र समृद्ध, सभ्य समाज निर्माणतर्फ अग्रसर हुने हो।

