काठमाडौँ । अनलाइन सट्टेबाजीसँग सम्बन्धित १० हजारभन्दा बढी एप र वेबसाइट बन्द गरिएको छ। नेपाल दूरसञ्चार प्राधिकरणका उपनिर्देशक सूर्यप्रसाद लामिछानेका अनुसार अवैध रूपमा सञ्चालनमा रहेका यस्ता प्लेटफर्म पहिचान गरी बन्द गर्ने कार्य तीव्र बनाइएको हो।
उनका अनुसार अधिकांश इन्टरनेट सेवा प्रदायकहरूले १० हजारभन्दा बढी एप र वेबसाइट बन्द गरिसकेका छन्। नेपाल टेलिकमले मात्रै २१ हजारभन्दा बढी यस्ता प्लेटफर्म बन्द गरेको जानकारी दिएको छ। साथै, यस्ता एप र वेबसाइट निरन्तर पहिचान गरी बन्द गर्ने प्रक्रिया जारी रहेको उनले बताए।
सरकारको शासकीय सुधारसम्बन्धी निर्णय कार्यान्वयनअन्तर्गत प्राधिकरणले इन्टरनेट सेवा प्रदायकसँग समन्वय गरी यस्तो कदम चालेको हो। मन्त्रिपरिषद्को चैत १३ गतेको बैठकबाट स्वीकृत ‘१०० कार्यसूची’को बुँदा नम्बर ४२ अनुसार सट्टेबाजीसम्बन्धी एप तथा वेबसाइट २४ घण्टाभित्र बन्द गर्ने व्यवस्था गरिएको छ।
सोही निर्णयअनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चैत १५ गते प्राधिकरणलाई आवश्यक निर्देशन दिएको थियो। त्यसपछि प्राधिकरणले विद्युतीय माध्यमबाट सञ्चालनमा रहेका पहिचान भएका सबै सट्टेबाजी एप तथा वेबसाइट तत्काल बन्द गरेको जनाएको छ।
मुलुकी अपराध संहिता, २०७४ अनुसार सट्टेबाजी गर्न वा गराउन नपाइने व्यवस्था छ। उल्लङ्घन गरेमा प्रयोग भएको रकम जफत हुने, एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने कानुनी प्रावधान छ।
त्यस्तै, विज्ञापन (नियमन गर्ने) ऐन, २०६६ ले जुवा वा सट्टेबाजीसम्बन्धी गतिविधि प्रवर्द्धन गर्ने विज्ञापन गर्न निषेध गरेको छ। सो उल्लङ्घन गरेमा समेत कानुनअनुसार कारबाही हुने व्यवस्था रहेको छ।
सरकारले नागरिकलाई यस्ता अवैध एप र वेबसाइट प्रयोग नगर्न तथा सञ्चालन नगर्न आग्रह गरेको छ। साथै, अनधिकृत रूपमा यस्ता गतिविधिमा संलग्न पाइएमा कडा कानुनी कारबाही गरिने चेतावनी दिएको छ।
प्राधिकरणले सर्वसाधारणलाई सचेत रहन, अवैध डिजिटल गतिविधिबाट टाढा बस्न तथा शङ्कास्पद एप वा वेबसाइटबारे जानकारी भएमा सम्बन्धित निकायमा खबर गर्न आग्रह गरेको छ।

