काठमाडौँ । उपसभामुख रुबीकुमारी ठाकुरले विवाह निमन्त्रणापत्रमै ‘दहेज मुक्त विवाह’ उल्लेख गर्न आग्रह गर्दै दाइजो प्रथाविरुद्ध लाग्न सबैलाई आग्रह गरेकी छन्।
सामाजिक सञ्जालमार्फत उनले पछिल्लो समय प्राप्त अधिकांश विवाहको निमन्त्रणापत्रमा दाइजोविरुद्धको स्पष्ट सन्देश नदेखिएको उल्लेख गर्दै यसले समाज अझै कुरीतिबाट पूर्ण रूपमा मुक्त हुन नसकेको संकेत गरेको बताइन्।
ठाकुरले दाइजो लिनु वा दिनु मात्र नभई त्यसमा आधारित विवाह स्वीकार गर्नु, त्यस्ता कार्यक्रममा सहभागी हुनु वा भोज ग्रहण गर्नु समेत सामाजिक रूपमा अस्वीकार्य र कानुनी रूपमा दण्डनीय कार्य भएको स्पष्ट पारेकी छन्।
दाइजो प्रथाले महिलाको सम्मान, समानता र अधिकारमा प्रत्यक्ष आघात पुर्याउने भएकाले यसको अन्त्य अपरिहार्य भएको बताउँदै प्रतिनिधि सभाकी उपसभामुख ठाकुरले सामाजिक रूपान्तरणका लागि व्यक्तिगत स्तरबाटै परिवर्तन सुरु गर्नुपर्नेमा उनले जोड दिएकी छन्।
आफ्नो पोस्टमा ठाकुरले दाइजो लेनदेन भएको विवाहमा आफू सहभागी नहुने घोषणा गर्दै दहेजमुक्त, समानतामा आधारित र सुसंस्कृत विवाहलाई प्रोत्साहन गर्न सबैलाई आह्वान गरेकी छन्।
साथै, विवाह निमन्त्रणापत्रमा “दहेज मुक्त विवाह, दाइजो लिनु र दिनु सामाजिक तथा कानुनी अपराध हो” भन्ने सन्देश समावेश गर्न आग्रह गर्दै उनले दाइजोमुक्त समाज निर्माणका लागि सामूहिक पहल आवश्यक रहेको उल्लेख गरेकी छन्।
यस्तो छ उनको सामाजिक सञ्जाल फेसबुकमा गरिएको पोस्ट

