काठमाडौं । नेपाल आयल निगमले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको छ। निगम सञ्चालक समितिको बुधबार बसेको बैठकले वैशाख ३ गते मध्यरातदेखि लागू हुने गरी नयाँ मूल्य समायोजन गरेको हो।
निगमका अनुसार डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३० रुपैयाँले बढाइएको छ भने आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरिएको छ। पेट्रोलको मूल्य भने हाललाई यथावत् छ।
नयाँ दर अनुसार काठमाडौं, पोखरा र दिपायल (तेस्रो वर्ग) मा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २३७ रुपैयाँ पुगेको छ। सुर्खेत र दाङ (दोस्रो वर्ग) मा २३६ रुपैयाँ तथा विराटनगर, वीरगञ्ज, नेपालगञ्जलगायत तराई क्षेत्र (पहिलो वर्ग) मा २३४ रुपैयाँ ५० पैसा कायम गरिएको छ। आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २५६ रुपैयाँ पुगेको छ।
मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढिरहेकाले मूल्य समायोजन गर्नुपरेको निगमले जनाएको छ। इण्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार स्वचालित मूल्य प्रणालीका आधारमा निर्णय गरिएको निगमको भनाइ छ।
यद्यपि मूल्य वृद्धि पछि पनि निगम घाटामै रहेको छ। निगमका अनुसार डिजेलमा अझै प्रतिलिटर ९९ रुपैयाँ १६ पैसा घाटा रहेको छ भने अन्तर्राष्ट्रिय मूल्य वृद्धिका कारण प्रत्येक १५ दिनमा करिब ५ अर्ब ७५ करोड रुपैयाँ घाटा हुने प्रक्षेपण गरिएको छ।

