काठमाडौं – वर्षायामसँगै मनसुन सक्रिय भई विपद्को जोखिम बढेपछि कान्ति लोकपथमा रातिको समयमा सवारी आवागमन अस्थायी रूपमा बन्द गरिएको छ।
जिल्ला प्रशासन कार्यालय ललितपुरले बुधवार एक सूचना जारी गर्दै कान्ति लोकपथ हुँदै मकवानपुर–सिन्धुली आवतजावत गर्ने सार्वजनिक, निजी तथा यात्रुवाहक सवारीसाधनलाई अर्को सूचना जारी नभएसम्म हरेक दिन साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालनमा रोक लगाइएको जनाएको छ।
प्रशासनका अनुसार कान्ति लोकपथका अधिकांश सडक खण्ड भौगोलिक तथा भूगर्भीय रूपमा अत्यन्त जोखिमयुक्त छन्। वर्षायाममा पहिरो जाने, ढुङ्गा खस्ने तथा सडक अवरुद्ध हुने सम्भावना उच्च रहेकाले यात्रु र सवारीसाधनको सुरक्षालाई मध्यनजर गर्दै रातिको सवारी सञ्चालन बन्द गर्ने निर्णय गरिएको हो।
राजमार्गमा हुन सक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्ने उद्देश्यले उक्त निर्णय लागू गरिएको प्रशासनले जनाएको छ। साथै सर्वसाधारण, यातायात व्यवसायी तथा सरोकारवाला निकायलाई आवश्यक सतर्कता अपनाउन पनि प्रशासनले आग्रह गरेको छ।

