रिहा ढुङ्गाना
जीवन एउटा कथा हो,
संघर्ष र त्यागको अमर गाथा हो।
हरेक मोडमा परीक्षा आउँछन्,
हरेक पाइला अनुभवको परिभाषा हो।१।
कहिले पाइलाहरू बीचमै रोकिन्छन्,
कहिले लक्ष्यतर्फ निर्भीक लम्किन्छन्।
अँध्यारा रातले बाटो छेके पनि,
आशाका किरणहरू फेरि भेटिनेछन्।२।
आँधी, हुरी र वर्षाका बीच पनि
आत्मविश्वास कहिल्यै हार्नु हुँदैन।
काँडाको बाटो हिँड्न सक्नेले नै
सफलताको फूल साँचो अर्थमा फुलाउँछन्।३।
यादहरूको अमूल्य संगालो बोकेर
समय सधैं अघि बढिरहन्छ।
अतीतको संघर्ष, आजका अनुभूति बनेर
भोलिको उज्यालो मार्ग कोरिरहन्छ।४।
हरेक संघर्ष, हरेक असफलताले
मानिसलाई अझ दृढ र परिपक्व बनाउँछ।
पसिनाको प्रत्येक थोपाले
सफलताको इतिहास रचिरहन्छ।५।
मानवता र परोपकारको बाटोमा
असल कर्मको दीप सधैं जलाऔँ।
निजी स्वार्थभन्दा माथि उठेर
सामाजिक हितमा उज्यालो छरौँ।६।
दुःखीको आँसु पुछ्ने हात बनौँ,
असहायको भरोसाको साथ बनौँ।
प्रेम, करुणा र सद्भावको सन्देश बोकेर
मानवताकै सुन्दर पहिचान बनौँ।७।
यो माटो, यो देश हाम्रो हो,
यसकै गौरवमा जीवन सजाऔँ।
राष्ट्रप्रेमलाई मुटुको धड्कन बनाई
एकताको सुगन्ध सधैं फैलाऔँ।८।
वीरहरूको बलिदान सम्झँदै
स्वाभिमानको शिर कहिल्यै नझुकाऔँ।
सत्य, न्याय र राष्ट्रियताको मार्गमा
अटल विश्वासका साथ अघि बढाऔँ।९।
जीवनको अन्तिम यात्रासम्म
देशप्रतिको श्रद्धा अडिग राखौँ।
राष्ट्रियताको झण्डा उच्च शिरमा फहराउँदै
आफ्नो कर्मले नेपाललाई अझ उज्यालो बनाऔँ।१०।
किनकि जीवन केवल बाँच्नु मात्र होइन,
असल कर्मले इतिहास लेख्नु पनि हो।
मानवता, त्याग, प्रेम र राष्ट्रप्रेमले सजिएको
यही जीवन नै साँचो सफलताको परिभाषा हो।११।

