अखिल नेपाल बुद्धिजीवी सङ्घको आयोजनामा ‘वर्तमान विश्वमा युद्ध र शान्तिको समस्या’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह तथा क्रान्तिकारी पार्टी तथा सङ्गठनको अन्तर्राष्ट्रिय संयोजन (आइकोर) की प्रमुख संयोजक मोनिका गार्टनरको प्रमुख आतिथ्यमा २०८३ असार १८ गते बागबजारमा सो कार्यक्रम सम्पन्न भएको हो ।
बुद्धिजीवी सङ्घका अध्यक्ष प्राडा श्रीधर गौतमको अध्यक्षता तथा केन्द्रीय प्रतिनिधि समीर सिंहको सञ्चालनमा अघि बढेको सो कार्यक्रममा उपस्थित सहभागीलाई युद्ध विरोधी अन्तर्राष्ट्रिय मोर्चाका उपाध्यक्ष सुवास जिसीले स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा महामन्त्री सिंह र प्रमुख अतिथि गार्टनरले लिखित मन्तव्य प्रस्तुत गर्नुभएको थियो । महामन्त्री सिंहको मन्तव्य राष्ट्रिय जनमोर्चाका नेता वासुदेव पोखरेलले वाचन गर्नुभएको थियो भने अङ्ग्रेजी रूपान्तर भीष्म जोशीले गर्नुभएको थियो ।
सो अवसरमा मन्तव्य राख्दै राजमो कार्यवाहक अध्यक्ष रश्मिराज नेपालीले युद्ध र शान्तिका ऐतिहासिक पाटा हुने गरेको दाबी गर्नुभयो । विश्वमा आफ्नो प्रभुत्व कायम राख्न साम्राज्यवादीले युद्ध जारी राख्ने बताउँदै उहाँले कम्युनिस्ट क्रान्तिकारीले त्यसको क्रान्तिकारी उपयोग गर्ने गरेको इतिहास सम्झिनुभयो ।
उहाँले भन्नुभयो– ‘प्रथम विश्वयुद्धबाट रुसमा समाजवादी क्रान्ति सम्पन्न भयो भने दोस्रो विश्वयुद्धपछि चीनमा सर्वहारा क्रान्ति सम्पन्न भयो ।’अध्यक्ष नेपालीले कम्युनिस्ट, वामपन्थी र सम्पूर्ण साम्राज्यवादी शक्तिको सहकार्यमा विश्वव्यापी रूपमा युद्ध विरोधी शान्ति अभियान अगाडि बढाउनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।kआइकोरका सदस्य क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रवक्ता हेमन्तप्रकाश वलीले आधारभूत रूपमा युद्धको मुख्य स्रोत निजी सम्पत्ति रहेको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो– ‘निजी सम्पत्तिको आधारमा एकाधिकार पुँजीवाद अर्थात् साम्राज्यवादी स्वार्थ प्रभुत्वमा रहँदासम्म युद्ध भइरहन्छ ।’
लेनिनलाई उद्धृत गर्दै उहाँले साम्राज्यवादी युद्धको अन्त्य सर्वहारा वर्गले गर्ने बताउनुभयो ।

