काठमाडौँ । नेपाल प्रहरीका आठै जना अतिरिक्त महानिरीक्षक (एआईजी) को एकैपटक सरुवा भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले जनपदतर्फ कार्यरत सबै एआईजीको एकसाथ सरुवा गर्ने निर्णय गरेको हो।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा कार्यरत एआईजी मनोज केसीलाई सरुवा गरिएको छ। उनको स्थानमा उमाप्रसाद चतुर्वेदीलाई खटाइएको छ।
उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी ईश्वर कार्कीलाई मानवस्रोत विकास विभागमा सरुवा गरिएको छ भने उनको स्थानमा एआईजी सुशील सिंह राठौरलाई जिम्मेवारी दिइएको छ।
यसअघि राठौर नेपाल प्रहरीको अपराध अनुसन्धान विभागमा कार्यरत थिए। उनको स्थानमा सीआईबीमा कार्यरत एआईजी मनोज केसीलाई ल्याइएको छ।
मानवस्रोत विकास विभागमा कार्यरत एआईजी राजन अधिकारीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ। प्रतिष्ठानमा कार्यरत एआईजी सिद्धिविक्रम शाहलाई कार्य विभागमा पठाइएको छ।
त्यसैगरी, प्रदेश समन्वय विभागमा कार्यरत एआईजी डम्बर विकलाई प्रशासन विभागमा सरुवा गरिएको छ भने प्रशासन विभागका एआईजी हिमालयकुमार श्रेष्ठलाई प्रदेश समन्वय विभागमा ल्याइएको छ।
नेपाल प्रहरीमा थप एक जना एआईजीको दरबन्दी रहेको छ। प्रहरी अस्पतालमा एआईजी डा. सुन्दरप्रसाद ह्योजु कार्यरत छन् ।

