काठमाडौँ । पत्रकार खेम भण्डारी पक्राउ परेका छन्। अदालतको फैसला कार्यान्वयनका लागि प्रहरीले उनलाई कञ्चनपुरबाट पक्राउ गरी आज अदालतमा उपस्थित गराएको हो।
कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी नेत्रमणि गिरीका अनुसार भण्डारीलाई बिहान भीमदत्त नगरपालिका–१८ कटानस्थित निवासबाट पक्राउ गरिएको हो।
‘अदालतको फैसला कार्यान्वयनका लागि पक्राउ गरेका हौँ। अहिले अदालतमा पेस गरेका छौँ,’ एसपी गिरीले बताएका छन्।
जिल्ला अदालत कञ्चनपुरले २०८२ जेठ १ गते गालीबेइज्जती मुद्दामा भण्डारीलाई १ महिना ७ दिन कैद र १२ हजार १०० रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।
कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनासम्बन्धी समाचार तथा सामाजिक सञ्जालमा आफ्नाबारे प्रकाशित सामग्रीले प्रतिष्ठामा आँच पुर्याएको भन्दै तत्कालीन एसपी दिल्लीराज विष्टका छोरा किरण विष्टले भण्डारीविरुद्ध जिल्ला अदालतमा गालीबेइज्जतीको मुद्दा दायर गरेका थिए।
जिल्ला अदालतको फैसलाविरुद्ध भण्डारीले उच्च अदालतमा पुनरावेदन गरेका थिए। तर उच्च अदालत दिपायलको महेन्द्रनगर–धनगढी इजलासले गत चैत २२ गते जिल्ला अदालतको फैसला सदर गरेको थियो।

