काठमाडौँ । गोरखापत्र संस्थानको महाप्रबन्धकमा हिक्मतबहादुर रावललाई नियुक्त भएका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले रावललाई संस्थानको महाप्रबन्धक नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।
हाल बीबीसीमा कार्यरत रावल कैलाली निवासी हुन्।
त्यसैगरी, मन्त्रिपरिषद् बैठकले शिक्षा दशौँ संशोधन नियमावली, २०८३ र कमैया श्रम निषेधसम्बन्धी पहिलो संशोधन नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद बैठकले अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन तथा खारेज गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्न स्वीकृति प्रदान गरेको छ। साथै, ‘एग्रिमेन्ट अन्डर द युनाइटेड नेसन्स कन्भेन्सन अन द ल अफ द सी अन द कन्जर्भेसन एन्ड सस्टेनेबल युज अफ मरिन बायोलोजिकल डाइभर्सिटी अफ एरियाज बियोन्ड नेसनल जुरिसडिक्सन’ अनुमोदनका लागि सङ्घीय संसद्मा पेस गर्न पनि स्वीकृति दिइएको छ।
यस्तै, सरकारले राष्ट्रिय सदाचार नीति, २०८३ र राष्ट्रिय विज्ञापन नीति, २०८३ समेत स्वीकृत गरेको छ।

