काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगम सञ्चालक समितिको मङ्गलबार बसेको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको नयाँ मूल्य निर्धारण गर्दै मूल्य कटौती गरेको हो।
नयाँ निर्णयअनुसार पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँले मूल्य घटाइएको छ। त्यस्तै, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ४० रुपैयाँ र अन्तरराष्ट्रिय हवाई इन्धनमा काठमाडौँका लागि प्रतिकिलोलिटर २६५ अमेरिकी डलरले मूल्य घटाइएको छ। खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिसिलिन्डर १०० रुपैयाँले घटाइएको निगमले जनाएको छ।
नयाँ मूल्यसूचीअनुसार तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १९७ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १९५ रुपैयाँ कायम भएको छ। यसअघि यी क्षेत्रमा पेट्रोल २१७ रुपैयाँ र डिजेल तथा मट्टितेल २२५ रुपैयाँ प्रतिलिटर थियो।
पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोल प्रतिलिटर १९४ रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टितेल १९२ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ। दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर १९६ रुपैयाँ र डिजेल तथा मट्टितेल १९४ रुपैयाँ कायम गरिएको छ।
आन्तरिक हवाई इन्धनको नयाँ मूल्य प्रतिलिटर २२९ रुपैयाँ तोकिएको छ। अन्तरराष्ट्रिय हवाई इन्धन काठमाडौँका लागि प्रतिकिलोलिटर एक हजार ५६६ अमेरिकी डलर, पोखराका लागि एक हजार १०० अमेरिकी डलर र भैरहवाका लागि एक हजार ८५ अमेरिकी डलर कायम गरिएको निगमले जनाएको छ।
मूल्य समायोजनसँगै १४.२ किलोग्राम क्षमताको खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर दुई हजार ६० रुपैयाँ कायम भएको छ। यसअघि यसको मूल्य दुई हजार १६० रुपैयाँ थियो।
निगमका अनुसार अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको परिवर्तन तथा इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गरिएको हो।

