काठमाडौँ । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षमा डा. गोपाल भट्ट लाई नियुक्त गरेको छ।
सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई बोर्डको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो। 
नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशकसमेत रहेका भट्ट कैलालीका बासिन्दा हुन्।
डा. भट्टले स्कट मार्केट विषयमा विद्यावारिधि (पीएचडी) गरेका छन्। उनले नेपाल सरकारको रुग्ण उद्योग पुनर्स्थापना समितिको सदस्यका रूपमा समेत काम गरेका छन्।
धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ७ को उपदफा (३) अनुसार बोर्ड अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गरिएको थियो। समितिले गत वैशाख १५ गते इच्छुक व्यक्तिहरूसँग आवेदन माग गरेको थियो, जसमा निर्धारित समयभित्र ४७ जनाले आवेदन दिएका थिए।
आवेदकमध्येबाट सिफारिस समितिले डा. गोपाल भट्ट, डा. नवराज अधिकारी, विनयदेव आचार्य र मुकुन्दकुमार क्षेत्री को नाम संक्षिप्त सूचीमा समावेश गरेको थियो।
उक्त सूचीबाट अन्तिम चरणमा तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरिएको थियो। तीमध्येबाट सरकारले डा. गोपाल भट्टलाई नेपाल धितोपत्र बोर्डको नयाँ अध्यक्षका रूपमा नियुक्त गरेको हो।

