काठमाडौं । मेनुका शाहीले राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेकी छन्। विभिन्न सामाजिक अभियानमा सक्रिय शाहीले आजदेखि भरतपुरमा सुरु हुने पार्टीको महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि प्रतिस्पर्धा गर्ने घोषणा गरेकी हुन्।
दैलेख निवासी अधिवक्ता शाही हाल बास नेपाल काठमाडौं शाखाकी अध्यक्षसमेत हुन्।
रास्वपाको श्रम तथा उपभोक्ता हित विभागकी सदस्य समेत रहेकी शाहीले पार्टीभित्र लोकतान्त्रिक मूल्य, सुशासन, पारदर्शिता र जनमुखी राजनीतिलाई थप सुदृढ बनाउने उद्देश्यका साथ आफू केन्द्रीय सदस्यका लागि चुनावी मैदानमा उत्रिएको बताएकी छन्।
“सक्षम नेतृत्व, सशक्त संगठन र समृद्ध नेपालको अभियानमा आफ्नो भूमिका अझ प्रभावकारी रूपमा निर्वाह गर्न उम्मेदवारी दिएको हुँ,” उनले बताइन्।
सामाजिक न्याय, सुशासन र नागरिक उत्तरदायित्वका विषयमा लामो समयदेखि सक्रिय रहँदै आएकी शाहीको उम्मेदवारीलाई महाधिवेशन प्रतिनिधिहरूमाझ सकारात्मक रूपमा हेरिएको छ। नयाँ पुस्ताको नेतृत्व विकास र संगठन सुदृढीकरणलाई प्राथमिकता दिइरहेको रास्वपाभित्र उनको उम्मेदवारीलाई अर्थपूर्ण कदमका रूपमा लिइएको छ।
चितवनमा आयोजित महाधिवेशनबाट पार्टीले नयाँ जीवन प्राप्त गर्ने भएकाले पार्टीभित्र चुनावी माहोल उत्साहपूर्ण बनेको छ। शाहीले आफूलाई विश्वास गरेर मतदान गर्न महाधिवेशन प्रतिनिधिहरूसमक्ष अपिलसमेत गरेकी छन्।
रास्वपाको महाधिवेशनले आगामी कार्यदिशा र नेतृत्व संरचना तय गर्ने भएकाले पार्टीभित्रको प्रतिस्पर्धा र राजनीतिक चासो थप बढेको छ।

