काठमाडौँ । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सात अर्ब १५ करोड २५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। महानगरकी उपप्रमुख मञ्जुदेवी गुरुङले शुक्रबार सम्पन्न १९औँ नगरसभामा बजेट प्रस्तुत गरेकी हुन्।
चालु आर्थिक वर्षमा आठ अर्ब ३५ करोड १२ लाख रुपैयाँको बजेट ल्याएको महानगरले आगामी वर्षका लागि बजेटको आकार घटाएको छ। नयाँ बजेट अघिल्लो वर्षको तुलनामा एक अर्ब १९ करोड ८७ लाख रुपैयाँले कम रहेको छ।
उपप्रमुख गुरुङका अनुसार बजेटका प्रमुख स्रोतमा सङ्घीय सरकारबाट प्राप्त हुने सशर्त, विशेष, समपूरक र समानीकरण अनुदान तथा गण्डकी प्रदेश सरकारबाट प्राप्त हुने विभिन्न अनुदान समावेश छन्। यस्तै, राजस्व बाँडफाँट र आन्तरिक स्रोतबाट प्राप्त हुने रकमसहित कुल आन्तरिक आय तीन अर्ब ८७ करोड ४९ लाख ६४ हजार रुपैयाँ रहने अनुमान गरिएको छ।
महानगरले वित्तीय स्थायित्व कायम राख्दै राजस्वको दायरा विस्तार गर्ने, पर्यटकीय राजधानी पोखराको आर्थिक गतिविधि बढाउने, रोजगारी सिर्जना गर्ने तथा वातावरणमैत्री र दिगो सहरी विकासलाई बजेटको मुख्य उद्देश्य बनाएको जनाएको छ।
बजेटले पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिएको छ। महानगर क्षेत्रका ६१ वटा सडक आयोजना सम्पन्न गर्न ५५ करोड ५० लाख रुपैयाँभन्दा बढी विनियोजन गरिएको छ। त्यसैगरी, सार्वजनिक जग्गा संरक्षण तथा व्यवस्थापनका लागि १० करोड रुपैयाँ, निर्माणाधीन तालचोक–बेगनास सडकको बाँकी काम सम्पन्न गर्न १५ करोड २५ लाख रुपैयाँ छुट्याइएको छ।
सामाजिक क्षेत्रतर्फ पोखरा सभागृह पुनर्निर्माणका लागि पाँच करोड रुपैयाँ, शिशुवा अस्पतालमा विशेषज्ञ सेवा विस्तारका लागि एक करोड २० लाख रुपैयाँ तथा गण्डकी बहुप्राविधिक शिक्षालयका लागि दुई करोड ६० लाख रुपैयाँ विनियोजन गरिएको छ।
फोहरमैला व्यवस्थापनलाई पनि विशेष प्राथमिकतामा राखिएको छ। फोहरमैला ढुवानी तथा व्यवस्थापनका लागि १५ करोड रुपैयाँ र प्रभावित क्षेत्रका लागि थप पाँच करोड रुपैयाँ बजेट छुट्याइएको छ। आधुनिक फोहरमैला प्रशोधन केन्द्र निर्माणलाई समेत महानगरले प्राथमिकतामा राखेको छ।
कृषि, शिक्षा र विपद् व्यवस्थापन क्षेत्रमा पनि बजेट वृद्धि गरिएको छ। कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न तीन करोड ६८ लाख रुपैयाँ, उद्यम विकास, रोजगार सिर्जना र नवप्रवर्तनका लागि एक करोड २५ लाख रुपैयाँ, सामुदायिक विद्यालयमा विद्यालय नर्स कार्यक्रम सञ्चालनका लागि तीन करोड रुपैयाँ तथा विपद् जोखिम न्यूनीकरण र पुनःस्थापनाका लागि तीन करोड २४ लाख रुपैयाँ विनियोजन गरिएको छ।
पर्यटन प्रवर्द्धनका लागि ६० लाख रुपैयाँ तथा खेल पर्यटन विकासका लागि ६६ लाख रुपैयाँ छुट्याइएको छ। महानगरले पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा थप स्थापित गर्ने लक्ष्य लिएको जनाएको छ।
यता चालु आर्थिक वर्षको बजेट कार्यान्वयन सन्तोषजनक देखिएको छैन। महानगरका अनुसार जेठ मसान्तसम्म कुल विनियोजित बजेटको करिब ४० प्रतिशत मात्र खर्च भएको छ। चालुतर्फ दुई अर्ब १६ करोड ९७ लाख रुपैयाँ र पुँजीगततर्फ एक अर्ब १७ करोड आठ लाख रुपैयाँ खर्च भएको विवरण नगरसभामा प्रस्तुत गरिएको छ।

