काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा प्रवर्द्धित ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना विद्युत् उत्पादनको अन्तिम तयारीमा पुगेको छ। आयोजनाका मुख्य भौतिक संरचनाको परीक्षण सुरु भएसँगै उत्पादन चरण नजिकिएको हो।
रघुगङ्गा गाउँपालिका–४ दग्नाम र वडा नं. ५ झिँको फेदी क्षेत्रमा निर्माण गरिएको बाँध, ६ किलोमिटर २७० मिटर लामो मुख्य सुरुङ तथा दुई वटा पानी थिग्राउने पोखरी (डिसेन्डर) को परीक्षण प्रक्रिया सुरु गरिएको आयोजनाले जनाएको छ।
रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीका अनुसार शुक्रबार बाँधस्थित डिसेन्डरमा पानी हालेर परीक्षण थालिएको छ भने आइतबार (आज)देखि मुख्य सुरुङमा पानी भर्ने कार्य सुरु गरिएको छ। उनका अनुसार बाँध, सुरुङ तथा विद्युत्गृहका उपकरणहरूको सफल परीक्षणपछि आयोजना विद्युत् उत्पादनमा प्रवेश गर्नेछ।
तिल्केनीचौरस्थित विद्युत्गृहको निर्माण सम्पन्न भइसकेको छ र हाल रङरोगनको काम भइरहेको छ। २० मेगावाट क्षमताको एक युनिट जडान भइसकेको छ भने अर्को युनिटका उपकरण जडान अन्तिम चरणमा पुगेका छन्। उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न निर्माण गरिएको स्विचयार्ड गत जेठ २५ गतेदेखि सञ्चालनमा आइसकेको छ।
आयोजनाको सिभिल निर्माण कार्यका लागि भारतीय कम्पनी जयप्रकाश एसोसिएट्स (जेपी) सँग २०७४ मङ्सिर ६ गते करिब ६ अर्ब रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। ४५ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि कोरोना महामारी, बाढीपहिरो तथा नदीजन्य निर्माण सामग्रीको अभावका कारण आयोजना प्रभावित भएको थियो। पटक–पटक म्याद थपिँदै आएपछि हाल चौथो पटक थपिएको अवधिभित्र आयोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
इलेक्ट्रोमेकानिकल उपकरण जडानका लागि भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल) सँग २०७६ कात्तिकमा एक करोड दुई लाख ९३ हजार २२.३५ अमेरिकी डलर बराबरको सम्झौता गरिएको थियो।
भारतीय एक्जिम बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माण भइरहेको यो आयोजना इन्जिनियरिङ, प्रोक्योरमेन्ट एन्ड कन्ट्र्याक्ट (ईपीसी) मोडलमा अघि बढाइएको हो।
यसअघि आर्थिक समस्याका कारण पुरानो ठेकेदारसँगको सम्झौता तोडेर नयाँ प्रक्रियामार्फत निर्माण कार्य अगाडि बढाइएको थियो। नयाँ ठेकेदार जेपीले २०७५ असारमा पहुँचमार्ग निर्माण र २०७६ असारबाट सुरुङ खन्ने काम सुरु गरेको थियो।
आयोजनाले वार्षिक २४ करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ। उत्पादित विद्युत् कालीगण्डकी करिडोरअन्तर्गतको २२० केभी डबल सर्किट क्षमताको दाना–कुश्मा प्रसारण लाइनमार्फत राष्ट्रिय ग्रिडमा जोडिनेछ। आयोजनाका लागि आवश्यक चार वटा टावर तथा प्रसारण लाइन निर्माण कार्य समेत सम्पन्न भइसकेको छ।
राहुघाट आयोजना सम्पन्न भएपछि राष्ट्रिय विद्युत् उत्पादनमा उल्लेखनीय योगदान पुग्नुका साथै ऊर्जा आत्मनिर्भरताको लक्ष्यमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।

