काठमाडौँ । विगत दुई महिनादेखि क्यान्सर रोगको किमोथेरापी उपचारमा प्रयोग हुने अत्यावश्यक औषधिको अभाव झेलिरहेका बिरामीका लागि राहतको खबर आएको छ। औषधि व्यवस्था विभागले अब केही दिनभित्रै ती औषधिको आपूर्ति सहज हुने जनाएको छ।
विभागका सूचना अधिकारी किरणसुन्दर बज्राचार्यका अनुसार हाल सीमित अस्पताल र फार्मेसीमार्फत मात्र उपलब्ध गराइँदै आएका क्यान्सर उपचारका औषधिहरू चाँडै देशभर सहज रूपमा उपलब्ध हुनेछन्। उनले औषधिको आयात प्रक्रियालाई सहज बनाइँदै रहेको र सरकारले मूल्य समायोजन गर्ने प्रतिबद्धता व्यक्त गरिसकेको जानकारी दिए।
“औषधिको अभावका कारण बिरामीलाई समस्या नहोस् भनेर निश्चित अस्पताल र फार्मेसीमार्फत वितरणको व्यवस्था गरेका थियौँ,” बज्राचार्यले भने, “अब आयात सहज भएपछि बिरामीले आवश्यक औषधि सजिलै पाउनेछन्।”
क्यान्सरको किमोथेरापी उपचारमा अत्याधिक प्रयोग हुने कार्बोप्लाटिन र सिस्प्लाटिन औषधिको अभाव पछिल्ला दुई महिनादेखि देखिएको थियो। हाल विभागका अनुसार नेपालमा कार्बोप्लाटिनका करिब दुई हजार भाइल र सिस्प्लाटिनका ५० भाइल मात्र मौज्दात छन्।
नेपालमा मासिक रूपमा करिब एक हजार भाइल कार्बोप्लाटिन र ६०० भाइल सिस्प्लाटिन आवश्यक पर्ने विभागको तथ्यांक छ। औषधि अभावका कारण भक्तपुर क्यान्सर अस्पताल, चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत स्वास्थ्य संस्थामा उपचार प्रभावित भएको थियो।
विभागले औषधि उपलब्ध गराउनका लागि नेपालगञ्जको जानकी अस्पताल, बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पताल, विराटनगरको विराट मेडिकल कलेज, पोखराको वविना फर्मा र मल्ल फर्मास्युटिकल्स, धरानको पुनम फार्मेसी, भरतपुरको राजदूत प्रालि तथा काठमाडौँका ताज नेपाल प्रालि, डिकेएम फर्मास्युटिकल्स, सिजल फर्मा र अनमोल हेल्थ केयरलाई सम्पर्क केन्द्रका रूपमा तोकेको छ।
नेपाल औषधि आपूर्तिकर्ता सङ्घका अध्यक्ष पवन आचार्यले बिरामीको उपचारमा असर नपरोस् भनेर महँगो मूल्यमा भए पनि विदेशबाट औषधि आयात गरेर आपूर्ति गरिरहेको बताए। उनका अनुसार एक महिनालाई पुग्ने परिमाणको सिस्प्लाटिन औषधि भारतबाट नेपाल आउने क्रममा छ।
सरकारले औषधिको मूल्य समायोजन गरेपछि भविष्यमा यस्ता औषधिको अभाव नहुने विश्वास सम्बन्धित निकायले व्यक्त गरेका छन्।

