नुवाकोट, असार ६ गते ।
नेपाली कम्युनिष्ट पार्टी जिल्ला कार्य संयोजन समिति नुवाकोटको विदुरमा प्रथम बैठक सम्पन्न भएको छ। बैठक जिल्ला संयोजक अरुणको अध्यक्षतामा सम्पन्न भएको हो।
बैठकमा पार्टीका प्रमुख अतिथि सूर्य सुवेदी ‘पथिक’ तथा विशेष अतिथि हितबहादुर तामाङको उपस्थिति रहेको थियो। कार्यक्रममा विभिन्न घटकका केन्द्रीय सदस्यहरू बिमला सुवेदी, राजेन्द्र प्रकाश लोहनी, राधिका तामाङ, हिरानाथ खतिवडा, रामप्रसाद ढुंगानालगायत नेताहरू सहभागी थिए।
बैठकमा उठेका विषयवस्तुहरूमाथि विशेष अतिथि हितबहादुर तामाङले सम्बोधन गर्दै संगठन विस्तार र आगामी कार्यदिशाबारे महत्वपूर्ण धारणा राख्नुभयो।
प्रमुख अतिथि सूर्य सुवेदी ‘पथिक’ले पार्टी केन्द्रदेखि स्थानीय तहसम्म एकरूपताका साथ अगाडि बढ्नु आजको आवश्यकता भएको बताउनुभयो। उहाँले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त शक्ति नै कम्युनिष्ट आन्दोलनलाई मजबुत बनाउने आधार भएको उल्लेख गर्दै नयाँ ढंगबाट आन्दोलनको विकास गर्नुपर्ने धारणा राख्नुभयो।
उहाँले हालको मत परिणामबाट विचलित नहुन आग्रह गर्दै अवस्था सधैँ एउटै नरहने बताउनुभयो। संगठनलाई थप व्यवस्थित र सुदृढ बनाउँदै जनतासँग जोडिएर अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो।
बैठकले संगठन सुदृढीकरणका लागि जिम्मेवारी समेत तोकेको छ। जसअनुसार जिल्ला कमिटीमा ३३१ जना, नगरपालिका कमिटीमा ८१ जना, गाउँपालिका कमिटीमा ६२ जना र वडा तहमा ३१ वटा संरचनाको कार्यविभाजन तथा जिम्मेवारी निर्धारण गरिएको छ।
बैठकले प्रदेशदेखि नगरपालिका, गाउँपालिका र वडा तहसम्म पार्टी गतिविधिलाई प्रभावकारी रूपमा अगाडि बढाउने निर्णय गरेको छ।
टपटेन खबरका लागि रीहा ढुङ्गाना

