काठमाडौँ – फिफा विश्वकप २०२६ मा पाराग्वेले अप्रत्याशित नतिजा निकाल्दै चार पटकको विश्व विजेता जर्मनीलाई प्रतियोगिताबाट बाहिर पठाएको छ। सोमबार बिहान भएको रोमाञ्चक राउन्ड अफ ३२ को खेलमा जर्मनीलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै पाराग्वे अन्तिम १६ मा प्रवेश गरेको हो।
निर्धारित ९० मिनेट र त्यसपछिको अतिरिक्त समय १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। सुटआउटमा पाराग्वेले उत्कृष्ट धैर्यता प्रदर्शन गर्दै ऐतिहासिक जित दर्ता गरेको हो ।
यो हारसँगै विश्वकप इतिहासमा जर्मनी पहिलो पटक पेनाल्टी सुटआउटमा पराजित भएको छ। साथै, सन् २०१४ मा विश्वकप जितेपछि जर्मनी लगातार चौथो पटक अन्तिम १६ चरण पार गर्न असफल भएको छ।
खेलको ४२औँ मिनेटमा जुलियो एन्सिसोले आकर्षक हेडरमार्फत गोल गर्दै पाराग्वेलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा दबाबमा देखिएको जर्मनीले दोस्रो हाफको सुरुमै खेलमा पुनरागमन गर्यो। ५३औँ मिनेटमा काइ हाभर्ट्जले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए।
त्यसपछि जर्मनीले कर्नरबाट अर्को गोल गरे पनि पाराग्वेका गोलकिपरमाथि फाउल भएको निष्कर्ष निकाल्दै भिडियो असिस्टेन्ट रेफ्री (VAR) ले उक्त गोललाई मान्यता दिएन।
यस सिजन आर्सनललाई २२ वर्षपछि प्रिमियर लिग उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका जर्मन फरवार्ड काइ हाभर्ट्ज पेनाल्टी सुटआउटको पहिलो प्रहारमै चुकेका थिए। जर्मनीका तीन खेलाडीले पेनाल्टीमा गोल गर्न नसक्दा पाराग्वेले ऐतिहासिक जित निकाल्न सफल भयो। पाराग्वेका दुई खेलाडीको प्रहार पनि असफल भए तापनि टोलीले अन्ततः ४–३ को नतिजासहित अन्तिम १६ मा स्थान सुरक्षित गर्यो।

