काठमाडौं । (TU-IOM) अन्तर्गत एमबीबीएस र बीडीएस अध्ययनरत विद्यार्थीहरूले ६ बुँदे माग अघि सार्दै मंगलबार माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।
विद्यार्थीहरूले लामो समयदेखि लागू रहेको चिकित्सा शिक्षाको पाठ्यक्रम र परीक्षा प्रणाली समयसापेक्ष नभएको भन्दै तत्काल सुधार गर्न माग गरेका हुन्। उनीहरूको भनाइमा पाठ्यक्रम, परीक्षा प्रणाली र मूल्याङ्कन प्रक्रियामा व्यापक सुधार नभए विद्यार्थीको शैक्षिक भविष्य तथा मानसिक स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ।
प्रदर्शनका क्रममा विद्यार्थीहरूले १९ वर्षदेखि सञ्चालनमा रहेको पाठ्यक्रम तथा परीक्षा प्रणाली तत्काल परिमार्जन गर्न, ‘ब्याच ड्रप’ (Batch Drop) प्रणाली खारेज गर्न तथा परीक्षामा वस्तुगत (Objective) र विषयगत (Subjective) दुवै प्रकारका प्रश्न समावेश गर्न माग गरेका छन्।
त्यस्तै, परीक्षाको तालिका व्यावहारिक बनाउँदै तयारीका लागि पर्याप्त समय सुनिश्चित गर्न, परीक्षामा सहभागी हुने अवसरको संख्या बढाउन तथा विद्यार्थीको मानसिक स्वास्थ्य, समय र शैक्षिक भविष्यको संरक्षण गर्न पनि उनीहरूले आग्रह गरेका छन्।
विद्यार्थीहरूको मागअनुसार पहिलो वर्षमा परीक्षा दिने अवसर ८ पटक र दोस्रो वर्षमा ६ पटक पुर्याउनुपर्ने उनीहरूको भनाइ छ।
आफ्ना मागहरूको सम्बोधनका लागि सम्बन्धित निकायसँग पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नभएको भन्दै विद्यार्थीहरूले तत्काल वार्ता र सुधार प्रक्रिया अघि बढाउन सरकार तथा विश्वविद्यालय प्रशासनसँग माग गरेका छन्।
- यी हुन् विद्यार्थीका ६ बुँदे माग:
१. १९ वर्ष पुरानो पाठ्यक्रम र परीक्षा प्रणाली तत्काल परिवर्तन गरियोस्।
२. ‘ब्याच ड्रप’ (Batch Drop) प्रणाली खारेज गरियोस्।
३. Objective र Subjective दुवै प्रकारका प्रश्न समावेश गरियोस्।
४. परीक्षाको तालिका व्यावहारिक बनाई पर्याप्त तयारीको समय सुनिश्चित गरियोस्।
५. परीक्षा दिने अवसर (Attempts) को संख्या वृद्धि गरियोस्। (प्रथम वर्ष : ८ पटक, दोस्रो वर्ष : ६ पटक)
६. विद्यार्थीको मानसिक स्वास्थ्य, समय र भविष्यको सुरक्षा सुनिश्चित गरियोस्।

