काठमाडौं । सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) मा तीन जना अन्तर्राष्ट्रिय व्यक्तित्वलाई सदस्यमा मनोनीत गरेको छ।
कोषकी अध्यक्ष तथा कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले कोष ऐनअनुसार बेलायतका लर्ड क्यामोस विलियम स्टोनर, विश्वप्रसिद्ध संरक्षणकर्मी तथा वन्यजन्तु विज्ञ डा. एरिक डाइनरस्टाइन र अस्ट्रेलियन प्राध्यापक डा. विन्डी राइटलाई सदस्यमा मनोनीत गरेकी हुन्।
मन्त्री चौधरीका अनुसार कोषको अन्तर्राष्ट्रिय साख अभिवृद्धि गर्न तथा वैज्ञानिक संरक्षणलाई थप प्रभावकारी बनाउन उनीहरूलाई सदस्यमा मनोनयन गरिएको हो।
मनोनीत सदस्यमध्ये लर्ड क्यामोस विलियम स्टोनर र डा. एरिक डाइनरस्टाइन नेपालको संरक्षण इतिहाससँग लामो समयदेखि जोडिएका व्यक्तित्व हुन्। बेलायतको ‘यूके नेपाल ट्रस्ट’का अध्यक्षसमेत रहेका आठौँ ब्यारोन क्यामोस (विलियम स्टोनर) को परिवार नेपालको राजनीतिक र कूटनीतिक इतिहाससँग पुरानो र ऐतिहासिक सम्बन्ध रहेको बताइएको छ। उनले ब्रिटिश परोपकारी संस्थामार्फत नेपालको जैविक विविधता संरक्षणमा निरन्तर योगदान पुर्याउँदै आएका छन्।
त्यस्तै, सन् १९७० र १९८० को दशकमा चितवन राष्ट्रिय निकुञ्जमा एकसिङ्गे गैँडा र पाटेबाघको प्राकृतिक बासस्थान तथा आहारविहारबारे प्रारम्भिक अनुसन्धान गर्ने वैज्ञानिकमध्ये डा. एरिक डाइनरस्टाइन पनि एक हुन्। उनले विश्व वन्यजन्तु कोष (WWF) मा २५ वर्ष मुख्य वैज्ञानिकका रूपमा काम गर्दै तराई आर्क ल्यान्डस्केपको अवधारणालाई अघि बढाएका थिए।
यस्तै, अस्ट्रेलियाको फेडरेसन युनिभर्सिटीकी डिन प्रा.डा. विन्डी राइटले विगत एक दशकदेखि नेपालमा सालक संरक्षण, मध्यवर्ती क्षेत्र व्यवस्थापन तथा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका क्षेत्रमा अस्ट्रेलियन विद्यार्थीलाई समेटेर निरन्तर स्थलगत तथा प्राज्ञिक सहकार्य गर्दै आएकी छन्।
मन्त्री चौधरीले कोषमा स्थापित, अनुभवी र अन्तर्राष्ट्रिय पहिचान बनाएका व्यक्तिहरूलाई ल्याउने नीति अनुरूप निजहरूको नियुक्ति गरिएको बताइन्। साथै, उनले चाँडै नै कोषको कर्मचारी प्रशासनसम्बन्धी विनियमावली संशोधन गरिने जानकारी पनि दिएकी छन्।

