-जया शर्मा
फैलिन देऊ मलाई क्षितिजको इन्द्रेणीसम्म
खुला आकाश मेरो पनि हो।
नाम्चेबजारबाट माथि उठ्नु छ
सगरमाथा मेरो पनि हो।
किन कुवाको भ्यागुतो बन्नुपर्ने मैले ?
मैले पनि त आफ्ना नानीहरूलाई भन्न पाउनु पर्छ-
उ !!! पृथ्वीको सीमा त्यहाँसम्म छ।
चाहना छैन मलाई फोस्रो सुन्दरताको,
चाहन्न म तिम्रो प्रशंसा पनि,
मलाई बन्नु छैन,
तिम्रो बैठकको शोभा।
म आफ्नै खुट्टामा उभिन जन्मिएको
छाम्न सकिने इतिहास हुँ।
म फिँजिन सक्छु, विशाल रूख भएर
म तिमीलाई छहारी दिन सक्छु।
म आफैँ भोग्छु घामपानी,
तिम्रो छाता तिमी ओढ।
हावासँग पौंठेजोरी खेल्छु,
स्वतन्त्र भएर नाँच्छु।
मेरो भागको धर्तीमाथि
तिम्रो के लाग्छ ?
मेरा जराहरु काट्ने हक तिम्रो छैन
मेरा हाँगा छिमल्नु तिम्रो अधिकार हैन।
नगर केही पनि मेरा लागि,
मेरो कित्तामाथि हमला गर,
बारम्बार गर, निरन्तर गर।
तैपनि म पहिल्याइ छाड्नेछु-
मेरो आफ्नो लक्ष्य !
शर्माको कविताको शीर्षक हामीले दिएका हौं ।

