शुभाषचन्द्र पौडेल ‘भिमफेदिया’
काठमाडौं, असार १४ — साहित्यकार प्रार्थना खनालको लघुकथाकृति ‘शान्तविजय’ शनिबार काठमाडौंमा आयोजित एक विशेष समारोहबीच विमोचन गरिएको छ।
हाम्रो लघुकथा केन्द्र, नेपालको आयोजनामा सम्पन्न कार्यक्रममा केन्द्रका अध्यक्ष डा. शेखरकुमार श्रेष्ठको सभापतित्व रहेको थियो । प्रमुख आमन्त्रित व्यक्तित्वका रूपमा कथाकार खनालका ९३ वर्षीय बुबा विजय खनाल उपस्थित थियो ।
कार्यक्रममा देउडा संस्कृतिका अभियन्ता नन्दकृष्ण जोशी, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, खेमराज पोखरेल, सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका पूर्व उपकुलपति डा. अमरराज जोशी, प्रा. पुरुषोत्तम दाहाल, कथाकार लता केसी तथा कृति समीक्षक मन्दिरा मधुश्रीलगायत साहित्यिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
मञ्चासीन अतिथिहरू तथा लेखक प्रार्थना खनालले सामूहिक रूपमा कृतिको विमोचन गिरिएको थियो । आमाबुबाप्रति समर्पित उक्त कृतिको शीर्षक पनि लेखकका आमा शान्ता र बुबा विजयको नामबाट जुराइएको हो।
प्रमुख आमन्त्रित विजय खनालले छोरीले आफ्नै नाम समेटेर कृति प्रकाशन गरेकोमा खुसी व्यक्त गर्दै उनलाई आशीर्वाद दिदै मन्तव्य सहित उनले एउटा हिन्दी गीत पनि प्रस्तुत गरेका थिए।
सभापति डा. शेखरकुमार श्रेष्ठले पूर्व मेचीदेखि पश्चिम महाकाली तथा हिमाल, पहाड र तराईका स्रष्टाहरूको सहभागितामा नयाँ कृति विमोचन गर्न पाएकोमा खुसी व्यक्त गर्दै यसले केन्द्रको गरिमा थप बढाएको बताए।
कृतिको समीक्षा गर्दै समीक्षक मन्दिरा मधुश्रीले ‘शान्तविजय’का लघुकथाहरू सरल, सकारात्मक र मानवीय संवेदनाले भरिएका रहेको बताइन्। उनका अनुसार कथाहरूमा पौराणिक तथा धार्मिक प्रसंग, समसामयिक घटना, अध्यात्म, दर्शन, ज्ञान–विज्ञान, आधुनिक प्रविधि, मौलिक संस्कृति, चाडपर्व र आदर्श समाजको परिकल्पना प्रभावकारी रूपमा प्रस्तुत गरिएको छ।
कार्यक्रममा श्रीओम श्रेष्ठ ‘रोदन’, प्रा. पुरुषोत्तम दाहाल, खेमराज पोखरेल, लता केसी, भानुभक्त जोशी, रामचन्द्र कुशवाह तथा डा. अमरराज जोशीले शुभकामना मन्तव्य व्यक्त गर्दै कथाकार प्रार्थना खनालको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पारेका थिए।
देउडा संस्कृतिका अभियन्ता नन्दकृष्ण जोशीले कार्यक्रमलाई पारिवारिक जमघटका रूपमा चित्रण गर्दै कृतिमा समेटिएका ‘बल्याजातो’ र ‘पडिम्याइत्’ कथामार्फत बझाङको संस्कृति उजागर भएको बताए।
उनले दिवङ्गत बाबु, आमा र दाजुको स्मरण गर्दै भावुक बनेका थिए भने श्रोताको आग्रहमा देउडा गीत प्रस्तुत गरी कार्यक्रमलाई मनोरञ्जनात्मक बनाएका थिए।
कार्यक्रममा वन्दना घिमिरेले ‘प्रेम’, शान्ता तिमिल्सिनाले ‘अन्तर्दृष्टि’ तथा सुनिता निरौला पौडेलले ‘गुनासो’ शीर्षकका लघुकथा वाचन गरेका थिए। केन्द्रकी उपाध्यक्ष सत्या अधिकारीले स्वागत मन्तव्य राखेकी थिइन्।
लेखकीय मन्तव्यका क्रममा कथाकार प्रार्थना खनाल आफ्नी दिवङ्गत आमा शान्ताको स्मरणमा भावुक बनेकी थिइन्। सानैदेखि लेखनमा रुचि भए पनि प्रकाशनमा ढिलाइ भएको उल्लेख गर्दै उनले आफ्ना श्रीमान् नन्दकृष्ण जोशीलाई आफ्नो प्रेरणाको स्रोत र पहिलो पाठकका रूपमा स्मरण गरिन्। उनले लघुकथा केन्द्रको सहयोगमा कृति प्रकाशन गर्न सफल भएको भन्दै सबैप्रति आभार व्यक्त गरिन्।
सो अवसरमा हाम्रो लघुकथा केन्द्रका तर्फबाट कथाकार प्रार्थना खनाललाई प्रशंसापत्र प्रदान गरिएको थियो। पुतलीसडकस्थित ग्रिनलिफ रेष्टुरेन्टमा सम्पन्न कार्यक्रमको सञ्चालन केन्द्रकी सहसचिव मिसु श्रेष्ठ थपलियाले गरेकी थिइन् ।

