काठमाडौँ, २७ असोज। मदन पुरस्कार गुठीले २०८१का लागि पूर्वघोषित जगदम्बाश्री सम्मान र मदन कृति पुरस्कार क्रमश: स्रष्टा प्रेमदेव गिरी र छुदेन कामिबोलाई एक भव्य समारोहबीच आइतबार प्रदान गरेको छ।
पाटनढोकास्थित कमलमणि थिएटरमा आयोजित समारोहमा नेपाली लोकभाकाका अथक सङ्कलक एवं संरक्षक प्रेमदेव गिरीलाई जगदम्बाश्री सम्मानबाट विभूषित गरियो। यसैगरी, ‘उरमाल’ कृतिका लेखक छूदेन काविमोलाई मदन पुरस्कार प्रदान गरिएको हो।
समारोहमा स्रष्टाद्वयलाई सम्मानपत्रका साथमा जनही चार/चार लाख रुपियाँको पुरस्कार राशि हस्तान्तरण गरिएको थियो।
पुरस्कार समर्पण समारोहको अवसरमा संस्कृतिविद् प्राडा वीणा पौड्यालले विद्वत् प्रवचन दिनुभएको थियो। उहाँले ‘कला, प्रतिमा र संरक्षण’ शीर्षकमा आफ्नो गहन विचार प्रस्तुत गर्दै पुरातत्वले मानिसको विगतलाई प्रमाणसहित उजागर गर्ने भएकाले यसको जगेर्ना गर्नु सबैको साझा दायित्व भएको बताउनुभएको थियो।
भारतीय मूलका साहित्यकार मदन पुरस्कार विजेता छुदेन काविमो ले प्रेम र साहित्यको सिमाना नहुने धारणा राख्नुभयो। उहाँले साहित्यले सधैँ वञ्चित, शोषित र मानवीय कुराहरूसँग सम्बन्ध राख्ने बताउँदै आफू “मान्छेभित्रको मान्छेलाई बचाइराख्नका निम्ति हरसमय लेखिरहन उत्प्रेरित हुने” अनुभव सुनाउनुभयो।
जगदम्बाश्रीद्वारा सम्मानित प्रेमदेव गिरी ले आफ्नो लामो साङ्गीतिक यात्राको अनुभव सुनाउनुभयो। कर्णालीको सुर्खेतमा जन्मनुभएका गिरीले विसं २०२५ देखि विधिवत् रङ्गमञ्चीय यात्रा सुरु गरेको र २०२९ देखि २०४१ सम्म राष्ट्रिय नाचघरमा रङ्गमञ्चीय कर्ममा जुटेको बताउनुभयो। विशेष गरी, उहाँले २०४३ देखि २०४५ सम्म रेडियो नेपालमा मादलको ताल दिँदै कर्णाली र भेरी अञ्चलका दुर्गम गाउँबस्तीका मौलिक लोकगीत र लोकभाकाहरू सङ्कलन गर्दाका अविस्मरणीय अनुभवहरू बाँड्नुभएको थियो।
सम्मान एवम् पुरस्कारले नेपाली साहित्य, कला र लोकसंस्कृतिका क्षेत्रमा योगदान पुर्याउने स्रष्टाहरूलाई सम्मान गर्दै नयाँ पुस्तालाई प्रेरणा दिने साहित्यकार्हरूको भनाई छ।