काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालमा कार्यरत लेखा अधिकृत ढुण्डिराज दाहाललाई एक लाखभन्दा बढी घुससहित नियन्त्रणमा लिएको छ ।
लेखा अधिकृत दाहालले विभिन्न सप्लार्स कम्पनी, ठेकेदारहरूलाई नियमानुसार भुक्तानी गर्नुपर्ने बिल रकमबापत घुस/रिसवतका रूपमा लिएको रु एक लाख २० हजार ५८० कार्यकक्षमा लुकाइराखेको भन्ने सूचना एवम् उजुरी निवेदनका आधारमा आयोगको टोलीले आइतबार नियन्त्रणमा लिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले दहाललाई घुस रकमसहित नियन्त्रणमा लिएको बताए ।
प्रवक्ता पौडेलले भने, “लेखा अधिकृत दाहालको कार्यकक्षबाट घुस÷रिसवतबापतको रकम, मोबाइल डिभाइस एक थान र अन्य सम्बन्धित कागजातसहित नियन्त्रणमा लिइएको छ ।”
लेखा अधिकृत दाहालमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

