नन्दलाल खरेल
‘स’ बिना सुत्थ्यो देश,
शब्दमै हराइन्थ्यो हाम्रो पहिचान,
तर ‘स’ आएपछि जाग्यो,
समृद्धिको सपना, स्वाधीनताको सुर,
सपनीले होइन, संघर्षले बुनेको हुर।१।
शक्तिशाली सरकार थियो,
तर ‘स’ ले नै देखायो सत्य,
सिन्डिकेटको सुनौलो जाल,
सुशासनका नाममा कुशासनको ताल,
सत्ताको स्यालले चिच्यायो—
“सिद्धान्त होइन, सुविधा चाहिन्छ”,
र राष्ट्र थकराएर बस्यो।२।
संविधानले दिएको स्वाधीन अर्थनीति,
तर किन अर्थतन्त्र अल्झिन्छ?
किन बजारमा असन्तुलन,
किन निर्णयमा द्वन्द्व?
‘स’ को सदुपयोग भए
समृद्धि कसैको कल्पना होइन,
यो यथार्थ बन्छ।३।
स्वस्थ शरीर, स्वस्थ मन, स्वस्थ राष्ट्र,
तर निजीकरणको दलदलमा
जनताको सास अड्किएको छ।
संविधानले निःशुल्कता लेख्यो,
व्यवहारले बिल बढायो,
सपना अस्पतालको ढोकामै रोयो।४।
‘स’ ले दिएको तीन तहको शक्ति,
तर स्थानीयदेखि सिंहदरबारसम्म,
सञ्जाल माफियाको,
बिगबिगी लोभको,
शोषण सोझाको,
हिजो राजधानीमै सीमित दलाल,
आज गाउँको ढोकामा पनि उस्तै हाल।५।
‘स’ को सबैभन्दा ठूलो स्वर,
अख्तियारदेखि सतर्कतासम्म
अर्बौँ खर्चियो सरकार,
तर किन नचल्यो न्याय,
किन कुम्लायो सत्य?
कांग्रेसको चोट, दलहरूको झट्का,
सबैको कथा— ‘स’ नै साक्षी।६।
तर यति हुँदाहुँदै पनि,
पङ्क्तिकारको सात ‘स’—
समृद्धिको सात द्वार।
यदि खोल्ने हो भने,
सन्तुलन, स्वाधीनता, सुशासन,
स्वास्थ्य, सडक, स्वतन्त्रता,
र संघीयताको सही स्पर्श—
बन्छ देश, उठ्छ नवप्रभात।७।
त्यसैले—
‘स’ मात्र अक्षर होइन,
राष्ट्रको धड्कन हो।
यदि ‘स’ सही दिशामा चले,
समृद्धि सानो सपना होइन,
सिङ्गो देशको आत्मा बन्छ।८।
‘स’ हो शक्तिको श्वास—
जाग, नेपाल!
अब ‘स’ लाई सही अर्थमा
समृद्धिको मार्ग बनाऊ।९।

