नवलपुर (नवलपरासी) — पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डमा नवलपुर र चितवन जोड्ने नारायणी नदी नजिक दुई दिन राति सवारी आवागमन पूर्ण रूपमा रोकिने भएको छ। निर्माणाधीन सडकको एप्रोच क्षेत्रमा कालोपत्र गर्ने कामका लागि मंसिर ५ र ६ गते राति ११ बजेदेखि भोलिपल्ट बिहान ४ बजेसम्म सडक बन्द गरिने नारायणघाट–बुटवल सडक योजना पूर्वी खण्डका प्रमुख इन्जिनियर ईश्वरबहादुर रिजालले जानकारी दिनुभयो।
उहाँका अनुसार नारायणी पुल–गैँडाकोटतर्फको भागमा रातिको समयमा मात्र सवारीसाधन रोकेर काम गर्न सम्भव हुने भएकाले निर्धारित समयावधिमा राजमार्ग पूर्णरूपमा बन्द गर्ने निर्णय गरिएको हो।
सडक बन्दका कारण पूर्व र पश्चिम जान आउने सवारीसाधनहरू तोकिएका स्थानमै रोकिने छन्।
पूर्वतर्फ (बुटवल ⇒ नवलपुर ⇒ पूर्व):
बस, मिनीबस, माइक्रो र साना सवारी — थुम्सी
ट्रक, ट्रेलर, कन्टेनर — बेल्डिहा
पश्चिमतर्फ (चितवन ⇒ नवलपुर ⇒ बुटवल):
बस, मिनीबस, माइक्रो र साना सवारी — रामनगरदेखि जुगेडी तथा केन्द्रीय बसपार्कदेखि गोन्द्राङ
मालवाहक ट्रक/ट्रेलर — जुगेडीदेखि दासढुङ्गा र गोन्द्राङदेखि टिकौली
रिजालले रातिको पाँच घण्टा बन्द हुने भएकाले आवश्यक अवस्थामा वैकल्पिक मार्ग प्रयोग गर्न र पालो अनुसार प्रतीक्षा गरेर मात्र यात्रा अघि बढाउन चालक तथा यात्रुसँग आग्रह गर्नुभयो।
सडक विस्तारका क्रममा लगातार बिग्रँदो अवस्थाका कारण यात्रुहरू महिनौँदेखि समस्या झेल्दै आएका छन्। नारायणी पुल पश्चिमतर्फ १७० मिटर कालोपत्र सम्पन्न भएपछि दाउन्नेसम्मको करिब ६० किलोमिटर खण्ड निरन्तर कालोपत्र मार्गले जोड्ने योजना छ।

