काठमाडौँ — दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज लुम्बिनी लायन्स र चितवन राइनोज आमनेसामने हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो ४ बजेबाट सुरु हुने खेलमा दुवै टिम विजयी रणनीतिसहित मैदान उत्रिनेछन्।
लुम्बिनीको नेतृत्व राष्ट्रिय टिमका कप्तान रोहितकुमार पौडेलले गरिरहेका छन् भने चितवनलाई उर्जाशील युवा खेलाडी कुशल मल्लले अगाडि बढाइरहेका छन्।
चितवनले पहिलो खेलमा कर्णाली याक्सलाई हराउँदै दुई अंक जोडिसकेको छ र उही आत्मविश्वाससहित लुम्बिनीविरुद्ध उत्रनेछ। लुम्बिनीले पनि पहिलो खेलमै प्रभावकारी प्रदर्शन गर्ने लक्ष्य राखेको छ।
यसअघि काठमाडौँ, चितवन, विराटनगर र सुदूरपश्चिमले दुई–दुई अंक जोडिसकेका छन्। दोस्रो सिजनका सबै खेल त्रिवि मैदानमै दिउँसो र राति गरी सञ्चालन भइरहेका छन्।
नेपाल क्रिकेट सङ्घ (क्यान)का अनुसार प्रत्येक खेलका लागि ९ हजार ४५० टिकट बिक्रीमा राखिएको छ। मंसिर १ देखि सुरु भएको एनपीएल मंसिर २७ गतेसम्म चल्नेछ।

