काठमाडौँ — सुदूरपश्चिम रोयल्सले काठमाडौँ गोर्खाजलाई २९ रनले हराउँदै नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा विजयी सुरुआत गरेको छ। साविक विजेता जनकपुर बोल्ट्सलाई पहिलो खेलमै पराजित गरी उत्कृष्ट लयमा देखिएको काठमाडौँलाई यसपटक साविक उपविजेता सुदूरपश्चिमले रोकिदिएको हो।
सुदूरपश्चिमले दिएको १४७ रनको लक्ष्य पछ्याउँदै काठमाडौँ १६.५ ओभरमै ११८ रनमा समेटियो। काठमाडौँका ओपनर आकाश त्रिपाठीले सर्वाधिक ३४ रन, जोन सिम्पसोनले २४, भीम शार्कीले १२ र मिलिन्द कुमारले ११ रन जुटाए। अन्य खेलाडी दोहोरो अंक नजोड्दै पेभिलियन फर्किए।
सुदूरपश्चिमका लागि बलिङमा स्कट कुगेलेइन, हेमन्त धामी र हर्मित सिंहले २–२ विकेट लिए। इशान पाण्डे, नरेन साउद र अविनाश बोहराले एक–एक विकेट हात पारे।
यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको सुदूरपश्चिमले सबै विकेट गुमाउँदै १४७ रन बनाएको थियो। ४ रनमै ३ विकेट गुमाउँदै कमजोर सुरुआत गरे पनि १६औँ ओभरमा २१ र १७औँ ओभरमा २४ रन बटुलेपछि टोलीले प्रतिस्पर्धात्मक स्कोर बनायो।
सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरी र हर्मित सिंहको इनिङ्स निर्णायक बन्यो। हर्मितले २० बलमा २ चौका र ६ छक्कासहित अविजित ५३ रन प्रहार गर्दै जितका नायक बने।
काठमाडौँका करण केसीले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए भने सन्नी पटेल, मिलिन्द कुमार र रासिद खानले २–२ विकेट झारे।

