काठमाडौँ — नेपाली कांग्रेसका युवा समूहले पार्टीभित्र संरचनात्मक सुधार र युवाको सम्मानजनक सहभागिता सुनिश्चित गर्न लक्षित ‘कांग्रेस सुधार अभियान’ सुरु गरेका छन्। पार्टीमा आस्था राख्ने ४० वर्षमुनिका युवाहरूले बुधबार १०१ सदस्यीय केन्द्रीय संयोजन समिति गठन गर्दै औपचारिक रूपमा अभियान सार्वजनिक गरेका हुन्।
नेपाल विद्यार्थी सङ्घका पूर्व कोषाध्यक्ष शिव रिमालका अनुसार पार्टीको हरेक तहमा—स्थानीय, प्रादेशिक र संघीय—निर्वाचनमा ४० वर्षमुनिका कम्तीमा ४० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गराउन दबाब सिर्जना गर्न समिति बनाइएको हो।
समितिले पार्टी संरचनामा व्याप्त अपारदर्शिता अन्त्य गर्दै सुशासन कायम गर्ने र भविष्यमुखी नेतृत्व निर्माणका लागि ‘प्राइमरी इलेक्सन’ अनिवार्य गराउन माग गरेको छ। उम्मेदवार छनोट प्रक्रियामा खुलापन र प्रतिस्पर्धात्मकता अभावले कांग्रेस कमजोर बन्दै गएको युवाहरुको निष्कर्ष छ।
रिमालका अनुसार अभियान सुरुमा प्रतिनिधिमूलक संरचनासहित अघि बढाइए पनि यसको उद्देश्य पार्टीभित्र विधान संशोधनदेखि लोकतन्त्र संरक्षणसम्म व्यापक विषयमा बहस र पैरवी प्रभावकारी बनाउने हो। समितिले आगामी दिनमा प्रदेश र जिल्लास्तरमा समेत संरचना विस्तार गर्ने तयारी गरेको रिसालले टपटेन खबरसित बताए।

