काठमाडौँ । सेक्रेड हार्ट माध्यमिक विद्यालयको संयोजनमा हिसान तारकेश्वर फुट्सल टुर्नामेन्ट – २०८२ मंसिर ५ र ६ गते दुई दिन सेक्रेट हार्ट विद्यालयको फुटसल मैदानमा हुने भएको छ।
कार्यक्रमको उद्घाटन मंसिर ५ गते बिहान ९ बजे र समापन मंसिर ६ गते दिउँसो २ बजे निर्धारित छ।
सभापति पुन, संयोजन भट्ट–रायमाझी
हिसान तारकेश्वरका अध्यक्ष लिलबहादुर पुन सभापतिमा रहनेछन्।
कार्यक्रमको सम्पूर्ण रूपरेखा तारकेश्वर हिसानका अतिरिक्त क्रियाकलाप प्रमुख राजेश रायमाझी तथा संयोजक विद्यालयका प्रिन्सिपल बद्रीनाथ भट्टले तयार गरेका हुन्।
तारकेश्वर नगरपालिका भित्र कक्षा ११ र १२ सञ्चालन गरिरहेका हिसान–आबद्ध विद्यालयहरूबीच स्वस्थ प्रतिस्पर्धा बढाउन यो टुर्नामेन्ट आयोजना गरिएको हो।
छात्रतर्फ ८ र छात्रातर्फ ७ टिम गरी कुल १५ टिम सहभागी हुनेछन्।
एन्फा रेफ्रीको टोली मैदानमा
टुर्नामेन्टका खेलहरू एन्फाका रेफ्री ज्ञानेन्द्र आलेको नेतृत्वमा रेफ्री समूहले सञ्चालन गर्नेछ।
कार्यक्रमको संयुक्त उद्घाटन केन्द्रीय हिसानका सह–कोषाध्यक्षले गर्नेछन्।
समापन तथा पुरस्कार वितरण
पुरस्कार तथा समापन समारोह मंसिर ६ गते दिउँसो २ बजे जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख समन्तमणि आचार्यले गर्नेछन्।
आयोजकले जारी गरेको विज्ञप्ति अनुसार सबै खेलकुद गतिविधि अन्तर्राष्ट्रिय अभ्यास, नियम तथा मापदण्डअनुसार सञ्चालन हुँदै आएको र यसपटक पनि सोही व्यवस्था अनिवार्य रूपमै पालना गरिने जनाएको छ। प्रतिस्पर्धामा सहभागी विद्यालयहरूलाई खेलसम्बन्धी आवश्यक नियमावली र जानकारी प्रदान गरिसकिएको छ।
‘सर्वाङ्गीण विकासको एउटा पक्ष: खेलकुद’
विज्ञप्तिमा भनिएको छ—“सर्वाङ्गीण विकासको एउटा पक्ष : खेलकुद” भन्ने आदर्शलाई सम्मान गर्दै टुर्नामेन्टले प्रतिस्पर्धी विद्यार्थीमार्फत विद्यालयहरूमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूलाई अनुशासित, सहयोगी तथा सर्वगुण सम्पन्न बनाउन योगदान पुर्याउने हाम्रो पूर्ण विश्वास छ।
विजेतालाई मेडल, ट्रफी र प्रमाणपत्र
टुर्नामेन्टका विजयी टिमहरूलाई मेडल, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ।
त्यस्तै, बेस्ट स्कोरर, बेस्ट प्लेयर र बेस्ट किपर सम्मानित हुनेछन्।

