–विश्वनाथ खरेल
प्रत्येक वर्ष मार्ग कृष्ण चतुर्दशीमा पर्ने यो पर्व पनि नेपाली जन–जीवनमा एउटा महत्वपूर्ण र आफ्नै मौलिकता बोकेको पर्व हो । यो बालाचतृर्दशीको पशुपतिनाथसँग रहेको कुरालाई हिमवत्खण्ड, नेपाल माहात्म्य तथा शिवपुराणहरुले वर्णन गरेका छन् । जुन हिमवत्खण्डको बयालीस अध्यायमा यस पर्वको उत्पत्ति परम्पराको बारेमा के बताइएको छ भने मृगरुप लिएर भगवान् शिवले जहाँजहाँ घुम्नुभयो, खानुभयो, सुत्नुभयो, हिंड्नुभयो, बिहार गर्नुभयो त्यो पुण्यक्षेत्र भएकाले त्यहाँ सप्तधान्य (शतबीज) छर्दा एउटा धानको गेडा छरेको पनि एक रत्ति सुवर्ण छरेको बराबर हुन्छ भनी हरिणेश्वर शिवजीले आकाशमार्गबाट बताएको भनि हाम्रो शास्त्रमा उल्लेख गरिएको पाइन्छ । फलतः बालाचतृर्दशीको पशुपतिनाथसँग रहेको कुरालाई हिमवत्खण्ड, नेपाल माहात्म्य तथा शिवपुराणहरुले वर्णन गरेका छन् । जुन शतबिज छर्नको लागि यस वर्ष दिवंगत भएका आफन्तको चीर शान्ति, मंगल र पुण्यको कामना गरी बन क्षेत्रमा शतबिज छर्ने चलन रहि आएको छ । यो लगातार तीन वर्षसम्म शतबिज छर्ने र तीन वर्षमा चर्तुष्ठी गरी होम गर्ने चलन तथा प्रचलन नेपाली समाजमा अद्यावधिक नै रहदै आएको छ । वस्तुतः शतबिज छर्ने पर्वको परम्परा कहिलेबाट बस्यो भन्ने जनश्रुतिअनुसार कैलाशबाट भगवान् शिव श्लेष्मान्तक बनमा आई अत्यन्त आकर्षक मृगरुप धारण गरी बषौ वर्ष बितेको पत्तै भएन । जसमा माता पार्वतीलगायत समस्त देवीदेवताहरुलाई ज्यादै पिर पा¥यो । भोलेबाबा कहाँ हुनुहुन्छ भनी दिव्य दृष्टिले हेर्दा त भगवान् मृगरुप धारण गरी पशुपति क्षेत्रमा बन विहार गरी रहनुभएको देवी पार्वतीले थाहा पाउनुभयो । त्यसपछि शिवरुपी मृगलाई चिन्न र आकर्षण गर्न माता पार्वतीले थाहा पाउनुभयो, शिवरुपी मृगलाई चिन्न र आकर्षण गर्न माता पार्वतीले विभिन्न किसिमको वीज छर्नुभयो । केही हप्तापछि छरिएका वीउहरु उम्रिएर हरियो घाँस भए पछि घाँस देखेर मृगहरु लोभिएर आउन थाले । जुन आएका मृगमध्ये मृगरुपी भोलेबाबालाई चिन्न माता पार्वतीलाई सजिलो भयो । यसरी देवी पार्वतीद्वारा सुरुवात भएको सद्वीज छर्ने प्रथा कालान्तरमा जीवन संस्कृति बन्यो र युग युगसम्म कायम भइराखेको छ, रहिरहने छ ।
शतबीज भन्नाले खास गरी सात चिजका गेडागुडीहरु भन्ने बुझिन्छ । यी शतबीजमा प्रयोग गरिने अन्नहरुमा गहुँ, सरस्र्यू, मकै, जौ, धान, बयर, अमला र अन्य फलफूल तथा कन्दमूलका टुक्राहरु पर्दछन् । यो शतबीज छर्न नेपाल अधिराज्यका विभिन्न भागहरु लगायत मित्रराष्ट्र भारतबाट समेत पशुपतिनाथको मन्दिरमा घुइँचो लाग्ने गर्दछ । यसमा मानिसहरु आउँछन् त्रयोदशीका दिन महाद्विप बाली पशुपति वरपर बस्छन् र भोलिपल्ट बिहान सप्तधान्य छर्दै हिंड्छन् । यस दिन टाडा जान असमर्थ कतिपयले नजिकको तीर्थ स्थल मन्दिर, देबालयमा गई शिव प्रार्थना गरी रातभर जाग्रांम बस्ने प्रचलन पनि जनसमुदायमा बिद्यमान छ । यसरी शतबीज छरिसकेपछि खीर, फलाहार, दही, च्यूरा, पुलाउ इत्यादी मिष्ठान्न पदार्थ भोजन गरी खैजडी, मुजुरा, मादलका साथै शिवलीला, कृष्ण चरित्रसम्बन्धी भजन–कीर्तन गाइने परम्परा नेपाली समाजमा विद्यमान छ । हाम्रो समाजमा दुई थरी विश्वास बोकेका मानिसहरुको शतबीज छर्ने प्रचलन छ । एकथरी अधिल्ला वर्षहरुमा आफ्नो परिवारजनको स्वर्गरोहण हुनेले मात्र मृतात्माको स्मृतिमा शतबीज छदैं चिरशान्तिको कामना गर्ने र अर्काथरी पुण्य कमाउने आशा गर्दछन् । जबकी सार्वजनिकरुपले शतबीज छर्ने अधिल्लो दिन अर्थात मार्ग कृष्ण त्रयोदशीको दिन भगवान् पशुपतिनाथलाई किमति गरगहना पहिराइन्छ । यसमा पनि भन्ने नै हो भने सक्कली एकमुखे रुद्धाक्ष, नागमणि जस्ता बस्तुहरु ढुकुटीबाट झिकिन्छन् । त्यसरी झिकिएका बस्तुहरु मार्ग कृष्ण औंसीको दिन भण्डारमा पुनः राखिन्छन् । बालाचर्तुदशीको दिन मध्यरातमा अन्तिम शतबीज छरिन्छ । यो कार्य सम्पन्न भएपछि त्यस वर्षको शतबीज छर्ने कार्य समाप्त हुन्छ । यसै क्रममा बालाचर्तुदशीको दिनदेखि पशुपतिनाथलाई तचातो स्नान गराउँछ । जुन तातो पानीले स्नान गराइन्छ । यो कार्य चैत्र कृष्ण चतुर्दशीसम्म प्रतिदिन त्यसरी नै स्नान गराइन्छ । यस महत्वपूर्ण दिनमा शतबीज छर्दा महत्व बुझनेहरु सवेरै बाग्मतीमा नुहाएर “ सुवर्णरत्तिकातुल्यं ब्रीहिमेकं परिक्षिपेत् मृगस्थली परिभ्रम्य पुनर्जन्म न विधते” भनी मन्त्र पढ्दै शतबीज छदर्छन् ।
शतबीज छर्नेहरुको धुइँचोसँगै काठमाडौं उपत्यकामा जाडो भित्रिन्छ भन्ने पुरानै उखान हो । यस दिन बौद्धवलम्वीहरु स्वयम्भूमा शतबीज छर्न धाउने गर्छन । तसर्थ पितृहरुको नाममा लामा, शेर्पा, तामाङ्ग, गुरुङ्ग आदि जनजातिहरुले अन्न, फलफूल छर्ने गरको पाइन्छ । सो दिनमा देवताहरुको पनि जात्रा हुने भन्ने धार्मिक विश्वास उनिहरुको रहेको पाइन्छ । यसमा देशमा रहेका शिव मन्दिरहरु लगायत पशुपतिनाथको दर्शन गरिसकेपछि उपत्यकाभित्र रहेका महत्वपूर्ण मन्दिरहरुमा पनि दर्शनार्थीको भीड लाग्ने गर्दछ । फलतः मार्ग कृष्ण त्रयोदशीको साँझदेखि पशुपतिनाथको सेरोफेरो र कैलाश डाँडाको मृगस्थलीमा मानिसको रेलो लाग्न थाल्छ । यसमा पनि पसलेहरु सतविज लगायत अन्य चिजहरु बेच्न सकेसम्म राम्रो ठाउँ ओगटे र पाल हाली बजार बसाल्न थाल्छन् । अनि अरु यात्रुहरु जहाँ जहाँ मिल्छ त्यही त्यही आफ्ना डफ्फाका साथ आसन बसाउछन् साँझ पर्दा सम्ममा कैलाशको चौरमा खुट्टो राख्न पनि मुश्किीलले नपाइने स्थिति हुन जान्छ । जब साँझ परेपछि धार्मिक अनुष्ठान शुरु हुन्छ । एकातिर परिवारका मूलि वा जिम्मेवार व्यक्तिहरु पशुपतिको मूल बत्तिबाट पितृका नाउँको दियो वा महाद्धिप, जीवनदीप आदि जगाएर रातभर त्यसको संरक्षण गरेर बस्छन् भर्ने अर्कातिर मादल र बाँसुरीको तालमा नाँच्ने पनि हुन्छन् । अनि केही धार्मिक प्रवृत्तिका रसिक पाकाहरु पनि बैंसको स्मृतिमा भजन, चुड्का, कीर्तन आदि गरेर कठोर रातको पीडालाई केही मत्थर बनाउने प्रयत्न गर्छन । यसर्थ त्रयोदशीको त्यो रात टाढाबाट असंख्य मौरीको भुनभुनले भरिएको रात झैं सुनिन्छ । जबकी कैलाशतिर हेर्दा त्यसको थाप्लो धपक्क बलेर त्यसको प्रकाशले चुक जस्तो गाढा अंधकार आकाशलाई छेड्ने ठूलो प्रयत्न गरिरहे झैं देखिन्छ । अनि चतुर्दशीको दिन चाँहि बिहान सबेरै महादिप वा दीप लगेर बागमतीमा सेलाइन्छ र मानिसहरु नुवाई धुवाई पशुपतिनाथको पूजा गरी शतबीज छर्ने कार्य गर्दछन् ।
अन्त्यमा भन्नुपर्दा हाम्रो समाजमा विभिन्न आ–आफ्नै संस्कृति हुन्छ । त्यस्तै गरी हाम्रो समाजमा भने प्राचिन काल देखि नै मानि आएको धर्म संस्कृतिलाई नै महत्व दिइएको पाइन्छ । यी विभिन्न धार्मिक कार्य मध्य शतबीज छर्ने पनि एक महत्वपूर्णको कार्य हो । त्यसैले गर्दा हिन्दुधर्मालम्बीहरु शतबीज छर्ने कार्यमा सधै लालयित रहेको पाइन्छ । यस कार्यको लागि त्रयोदशीका दिन राती पशुपतिक्षेत्र खास गरी कैलाशको थाप्लामा दीप महादीप बालिदिएमा जीवात्मा कुनै कारणवश शून्यमा मार्ग नपाई अन्धकारमा भट्किरहेका भए पनि त्यस दीपका प्रकाशले मार्ग पाई पितृलोकमा जान सक्छ र श्लेषमान्तक क्षेत्रमा शतबीज छर्दा एक गेडा अन्न बराबर एक तोला सुन दानको पुण्य मृतकलाई मिल्छ भन्ने गहिरो जनविश्वास छ । यो पर्व नेपाली सँस्कृतिको एक महत्वपूर्ण अंग हो र हिन्दू धर्मावलम्बीहरुले यसलाई बढो हर्षोल्लासका साथ मनाइने गरेको पाइन्छ । अतः यस पर्वले धार्मिक आस्था तथा परम्पराको विश्वासको आधारमा नै शतबीज छर्ने कार्य गर्ने गरिन्छ ।

