गोकर्णेश्वर–८,काठमाडौं।
“मासिक १०० अभियान नेपाल”ले अघिल्ला वर्षहरूजस्तै यस वर्ष पनि स्टेशनरी सहयोग कार्यक्रमलाई निरन्तरता दिँदै श्री भिमदेव आधारभूत विद्यालयका १५० जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ।
कार्यक्रमका सचिव संगिता सुवेदी, अध्यक्ष बिकास श्रेष्ठ, तथा संस्थाका परिकल्पनाकार तथा संस्थापक अध्यक्ष सन्जय पोखरेल ज्युले विद्यार्थीहरूको शैक्षिक उत्थानमा सहयोग पुग्ने उद्देश्यले प्रेरणादायी मन्तव्य राख्नुभएको थियो।
सो कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण भण्डारीको सभापतित्वमा सम्पन्न भएको थियो।
यस्तै, संस्थाले हरेक महिना आयोजना गर्दै आएको ज्येष्ठ नागरिक भेटघाट कार्यक्रम चार पुस्तालाई समेट्ने महत्वपूर्ण अवसर भएकोले श्री भिमदेव आधारभूत विद्यालयका भाइबहिनीहरूलाई समेत उक्त कार्यक्रममा सहभागी हुन आह्वान गरिएको जनाइएको छ।
यो संस्थाले १० वर्षदेखि अनवरत रूपमा परोपकारी कार्य गर्दै आएको छ। गोकर्णेश्वर नगरपालिकाभित्र परोपकारमा समर्पित छुट्टै पहिचान बनाउन सफल यस संस्थाका संचालक समिति भित्रका सदस्यहरू निस्वार्थ रूपमा सक्रिय रहँदै आएका छन्।
संचालकहरू कुनै पनि राजनीतिक पार्टीसँग आवद्ध नभइ, आन्तरिक सद्भाव र सेवाभावका आधारमा आर्थिक रूपमा कमजोर विद्यार्थीहरू, ज्येष्ठ नागरिक तथा बा–आमा, हजुरबा–हजुरआमाहरूको सेवामा पूर्ण रूपमा समर्पित रहेको र रहने बताइएको छ।
यस संस्थामा मासिक १०० रुपैयाँ दान गर्न इच्छुक जो–कोही व्यक्तिले सहजै सदस्य बन्न सक्ने व्यवस्था रहेको र सदस्यता लिन पवित्र मन र सेवाभाव नै मुख्य आधार हुने संस्थाले जनाएको छ।

