काठमाडौँ — सुरक्षित र पर्याप्त खानेपानी तथा दिगो सरसफाइ सेवाका विषयमा विश्वव्यापी चेतना फैलाउने उद्देश्यसहित आज विश्व शौचालय दिवस विभिन्न कार्यक्रममार्फत मनाइँदै छ। सन् २०१३ देखि औपचारिक रूपमा मनाइँदै आएको यो दिवसले पानीको गुणस्तर सुधार, जलस्रोतको दिगो व्यवस्थापन र सरसफाइ क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्यलाई प्राथमिकतामा राख्छ।
संयुक्त राष्ट्रसंघका अनुसार सबैका लागि सुरक्षित, पहुँचयोग्य र मर्यादित शौचालय निर्माण अहिलेको अत्यावश्यक वैश्विक एजेण्डा बनेको छ। संसारभर झन्डै ३ अर्ब ४० करोड मानिस सुरक्षित सरसफाइ सेवाबाट अझै वञ्चित छन् भने ३५ करोड ४० लाख मानिस खुला ठाउँमै दिसापिसाब गर्न बाध्य छन्।
महिला र बालिका विशेष जोखिममा पर्ने भएकाले दिगो विकास लक्ष्य–६ (SDG 6) हासिल गर्न शौचालयको सुनिश्चितता अपरिहार्य रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ।
समुदायदेखि विद्यालयसम्म सरसफाइमा ध्यान केन्द्रित
राष्ट्रसंघले विश्वव्यापी सरसफाइ मुद्दामा एकीकृत अभियान चलाउन आजको दिन विशेष अवसर भएको बताउँदै व्यक्तिगत, सामुदायिक, सरकारी, निजी तथा गैरसरकारी क्षेत्रलाई सक्रिय भूमिका खेल्न आह्वान गरेको छ।
यसअन्तर्गत विभिन्न देशमा—सामुदायिक सरसफाइ अभियान,विद्यालयमा सरसफाइ सम्बन्धी कक्षाहरू, सार्वजनिक संवाद र नीतिसंवाद, अनुभव आदानप्रदान कार्यक्रम लगायतका गतिविधि सञ्चालन हुन्छन्।

