काठमाडौँ । थमन विक हत्या प्रकरणमा उच्च अदालत जनकपुरले पूर्वसांसद लक्ष्मी महतो कोइरी सहितका अभियुक्तहरूलाई पाँच वर्ष कैद सजाय हुने फैसला गरेको छ।
उच्च अदालतले जिल्ला अदालत महोत्तरीको फैसला उल्ट्याउँदै कोइरी, अभिराम शर्मा, धर्मेन्द्र राय, रामशंकर मिश्र, सुरेश पाण्डे र पवन कापरलाई जनही पाँच वर्ष कैद सजाय सुनाएको हो।
यसअघि जिल्ला अदालत महोत्तरीले कोइरी र कापरलाई सफाइ दिएको थियो। बुधबार मुख्यन्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले जिल्ला अदालतको फैसला उल्ट्याउँदै कोइरी र कापरलाई पाँच वर्ष कैद सजाय हुने फैसला सुनाएको हो।
त्यसैगरी, जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका शर्मा, राय, मिश्र र पाण्डेको हकमा पनि उच्च अदालतले फैसला संशोधन गर्दै पाँच वर्षमात्रै कैद सजाय हुने निर्णय गरेको छ।
यद्यपि, जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएका प्रदीप साह माझी, सञ्जयकुमार साह र मोहन ठाकुरको सजाय भने उच्च अदालतले सदर गरेको छ।
जिल्ला अदालत महोत्तरीले २०८० मंसिर २८ गते कोइरीलाई सफाइ दिएको थियो। २०७२ भदौ २५ गते भएको असई थमन विक हत्या प्रकरणमा तत्कालीन नेकपा (एमाले) का प्रतिनिधिसभा सदस्य महतोसहित २८ जनाविरुद्ध २०७५ साउन २८ गते कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो।

