काठमाडौँ । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत अन्तिम ३२ (राउन्ड अफ ३२) को खेलमा डीआर कंगोलाई २–१ ले पराजित गर्दै इङ्ग्ल्यान्ड अन्तिम १६ मा प्रवेश गरेको छ ।
एटलान्टा स्टेडियममा आज सम्पन्न खेलमा इङ्ग्ल्यान्डको जितका नायक कप्तान ह्यारी केन बने । उनले टोलीका लागि दुवै गोल गर्दै इङ्ग्ल्यान्डलाई नकआउट चरणको अर्को यात्रा तय गराए ।
खेलको सुरुआतमै डीआर कंगोले अग्रता बनाएको थियो । सातौं मिनेटमा ब्रायन चिपेङ्गाले गोल गर्दै कंगोलाई १–० को अग्रता दिलाएका थिए ।
पहिलो हाफमा पछि परेको इङ्ग्ल्यान्डले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्यो । खेलको ७५औं मिनेटमा कप्तान केनले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए ।
त्यसपछि ८६औं मिनेटमा केनले व्यक्तिगत दोस्रो तथा टोलीका लागि निर्णायक गोल गर्दै इङ्ग्ल्यान्डलाई २–१ को जित दिलाए । बाँकी समयमा कुनै टोलीबाट थप गोल हुन नसकेपछि इङ्ग्ल्यान्ड विजयी बन्दै अन्तिम १६ मा पुग्न सफल भयो भने डीआर कंगोको विश्वकप यात्रा यही चरणमा समाप्त भएको छ।

