धनकुटा,
असार २५ — नेपाली कांग्रेसले आगामी महाधिवेशनलाई लक्षित गर्दै धनकुटामा युवा र महिलालाई विशेष प्राथमिकतामा राखेर क्रियाशील सदस्यता वितरण तथा पुराना सदस्यताको अध्यावधिक अभियानलाई तीव्रता दिएको छ।
पार्टीकी सहमहामन्त्री डा. डिला संग्रौला ले बिहीबार धनकुटामा सञ्चालन भइरहेको नयाँ क्रियाशील सदस्यता वितरण तथा पुराना सदस्यताको अध्यावधिक कार्यको अनुगमन गर्दै १८ देखि ३५ वर्ष उमेर समूहका युवा र महिलालाई केन्द्रमा राखेर वडा–वडामा पुगेर सदस्यता वितरण गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो।
उहाँले नेपाली कांग्रेसको महाधिवेशन निर्धारित समयमै अर्थात् आगामी असोज महिनामा सम्पन्न हुने बताउँदै त्यसका लागि आवश्यक तयारीस्वरूप क्रियाशील सदस्यता वितरण र अध्यावधिक कार्य तीव्र गतिमा अघि बढाइएको जानकारी दिनुभयो। पार्टीभित्र पूर्ण एकता कायम गर्दै नियमित महाधिवेशन सम्पन्न गरिने विश्वास समेत उहाँले व्यक्त गर्नुभयो।
कार्यक्रममा सुरेश सुब्बा ले विशेष महाधिवेशनपछि नेपाली कांग्रेस नयाँ ऊर्जा र उत्साहका साथ अगाडि बढिरहेको बताउनुभयो।
अनुगमन कार्यक्रममा जिल्ला सचिव विजय सन्तोष राई, महासमिति सदस्य तथा नेपाल महिला संघ धनकुटाकी अध्यक्ष लिला सुब्बा, सहसचिवद्वय रोशन श्रेष्ठ र गिरिजाप्रसाद दाहाल, महासमिति सदस्य सुमना तिम्सिना, कोषाध्यक्ष सरस्वती मगर, जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, निर्वाचित जनप्रतिनिधिहरू, नेपाल ट्रेड युनियन कांग्रेस तथा नेपाल महिला संघका प्रतिनिधिहरू, विभिन्न वडाका सभापति तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमका क्रममा धनकुटा जिल्लाका ६० वटै वडामा युवा र महिलालाई केन्द्रित गरी क्रियाशील सदस्यता वितरण भइरहेको जानकारी गराइँदै नयाँ सदस्यता वितरण तथा पुराना सदस्यताको अध्यावधिक सम्बन्धी सुझावहरू समेत संकलन गरिएको थियो।
नेपाल पत्रकार महासंघ धनकुटाका संस्थापक अध्यक्ष संजय सन्तोषी राईसहित सञ्चारकर्मीहरूको समेत उपस्थिति रहेको कार्यक्रममा जिल्ला सचिव विजय सन्तोष राईको संयोजकत्व रहेको थियो भने स्वागत मन्तव्य सहसचिव रोशन श्रेष्ठले व्यक्त गर्नुभएको थियो।
नेपाली कांग्रेसले हाल देशव्यापी रूपमा युवा पुस्ता र महिलाको सहभागिता बढाउने उद्देश्यसहित क्रियाशील सदस्यता अभियान सञ्चालन गरिरहेको छ। धनकुटामा समेत उक्त अभियान प्रभावकारी रूपमा अगाडि बढिरहेको पार्टीले जनाएको छ।

