काठमाडौँ । भेनेजुएलाको राजधानी कराकास बुधबार राति शक्तिशाली भूकम्पका दुई लगातार झट्काले थर्किएको छ। केही सेकेन्डको अन्तरालमा ७.२ र त्यसपछि ७.५ म्याग्निच्युडका भूकम्प गएपछि व्यापक जनधन क्षतिको आशंका गरिएको छ।
अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार दोस्रो भूकम्प पहिलोभन्दा अझ शक्तिशाली थियो। प्रारम्भिक मूल्याङ्कनका आधारमा मृत्यु हुनेको संख्या १० हजारभन्दा माथि पुग्ने सम्भावना ४४ प्रतिशत रहेको यूएसजीएसले जनाएको छ।
भूकम्पपछि भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले राष्ट्रका नाममा सम्बोधन गर्दै देशभर आपत्कालीन अवस्था घोषणा गरेकी छन्। उद्धार तथा राहत कार्यलाई तीव्र बनाइएको जनाइएको छ।
भेनेजुएलामा किन आउँछ शक्तिशाली भूकम्प ?
भेनेजुएला विश्वका भूकम्पीय दृष्टिले संवेदनशील क्षेत्रमध्ये एक मानिन्छ। यहाँ क्यारिबियन प्लेट र दक्षिण अमेरिकी प्लेट एकअर्कासँग भेटिने भएकाले भूगर्भीय गतिविधि निरन्तर भइरहन्छ।
यूएसजीएसका अनुसार बुधबार आएको दोस्रो तथा बढी शक्तिशाली भूकम्प यी दुई टेक्टोनिक प्लेटको सीमाक्षेत्र नजिक भएको तीव्र भू–हलचलको परिणाम हो। प्लेटहरू तेर्सो दिशामा एकअर्कासँग सर्दा ठूलो ऊर्जा सञ्चित हुन्छ र अचानक मुक्त हुँदा शक्तिशाली भूकम्प उत्पन्न हुन्छ।
यूएसजीएसले भूकम्पलाई नक्सामा एउटा बिन्दुका रूपमा देखाइए पनि वास्तविकता भने ठूलो फल्ट क्षेत्रमा भएको ‘स्लिप’ अर्थात् भू–सतहको चिप्लिने प्रक्रियासँग सम्बन्धित रहेको स्पष्ट पारेको छ।
एजेन्सीका अनुसार लगातार आएका यी दुई भूकम्पले जटिल भूगर्भीय ‘रप्चर इन्टर्याक्सन’ प्रक्रियाको संकेत गरेका छन्। साथै आगामी दिनमा थप परकम्प आउन सक्ने र केही झट्का अझ शक्तिशाली हुन सक्ने चेतावनी पनि दिइएको छ।

