काठमाडौँ । निकोलस पेपेको उत्कृष्ट दुई गोलको मद्दतले क्युरासाओलाई पराजित गर्दै आइभोरी कोस्ट नकआउट चरण प्रवेश गरेको छ । उसले आफ्नो फुटबल इतिहासमै पहिलो पटक विश्वकपको नकआउट (अन्तिम ३२) चरणमा स्थान सुरक्षित गरेको हो ।
यसअघिका तीनवटा विश्वकप फुटवल प्रतियोगिताको सहभागितामा समूह चरणबाटै बाहिरिएको आइभोरी कोस्टका लागि यो उपलब्धि ऐतिहासिक बनेको छ ।
समूह ‘ई’ को निर्णायक खेलमा नकआउट चरण पुग्न आइभोरी कोस्टलाई मात्र १ अङ्कको आवश्यकता थियो । तर, टोलीले खेलको सुरुदेखि नै दबाब बनायो ।
खेलको सातौँ मिनेटमै क्युरासाओका डिफेन्डरको गल्तीको फाइदा उठाउँदै यान डियोमान्डेले खोसेको बलमा निकोलस पेपेले गोल गर्दै आइभोरी कोस्टलाई सुरुवाती अग्रता दिलाएका थिए । पेपेले खेलको ६५ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे ।
यो जितसँगै आइभोरी कोस्टले समूह ‘ई’ मा ६ अङ्क जोड्दै दोस्रो स्थान हासिल गरेको हो ।

