काठमाडाैं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सरकारले सुकुम्बासीलाई यही असार तेस्रो साताबाट लालपुर्जा वितरण सुरु गर्ने बताएकी छन् ।
आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक विनियोजित बजेटमाथि प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री रावलले सरकार सुकुमवासीलाई लालपुर्जा वितरण गर्ने तयारीमा रहेको जानकारी दिएकी हुन् ।
उनले ३० वर्षमा १२ लाख निवेदनमध्ये केवल ९ हजारले मात्र लालपुर्जा पाएको अवस्थालाई सुधार्ने बताइन् । ‘लालपुर्जाको हकमा हामीले काम सुरु गरिसकेका छौँ । अब असारको तेस्रो हप्तादेखि लालपुर्जा वितरण गर्ने काम सुरुवात गर्ने छौँ’, उनले भनिन् ।
सहकारी क्षेत्रमा राज्यकोषको पैसा प्रयोग नगरी समस्या समाधान भइरहेको र पछिल्ला ३ महिनामा १,४५२ बचतकर्ताको करिब ५९ लाख रुपैयाँ फिर्ता गरिएको उनले जानकारी दिइन् । साथै ३.५ करोडभन्दा बढी ऋण असुली भएको पनि बताइन् ।

