काठमाडौं — नेत्रबहादुर चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीमा १० जना केन्द्रीय सदस्यसहित १२ जना नेताहरूले पार्टीबाट सामूहिक राजीनामा दिएका छन्।
पार्टी महासचिव चन्दको कार्यशैली, संगठन सञ्चालन तथा आन्तरिक व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै नेताहरूले सामूहिक रूपमा राजीनामा दिएको जनाइएको छ।
राजीनामा दिएका नेताहरूले कम्युनिस्ट आन्दोलनलाई नयाँ ढंगले रूपान्तरण, एकता र पुनर्गठन गर्ने प्रक्रियामा पार्टी नेतृत्व अपेक्षित गतिमा अघि बढ्न नसकेको आरोप लगाएका छन्। उनीहरूले पार्टीभित्र उठेका वैचारिक बहस र आन्तरिक छलफलका विषयमा नेतृत्वको व्यवहारप्रति पनि आपत्ति जनाएका छन्।
आन्तरिक बहसको माग गर्ने नेताहरूमाथि गरिएको कारबाहीप्रति असहमति जनाउँदै आफूहरूले राजीनामा दिएको उनीहरूको भनाइ छ। पछिल्लो घटनाले विप्लव नेतृत्वको पार्टीभित्रको आन्तरिक विवाद सतहमा आएको देखिएको छ।
राजीनामा दिने नेताहरूले जारी गरेको विज्ञप्तिमा साढे एक दशक लामो क्रान्तिकारी यात्राका बाबजुद अपेक्षित उपलब्धि हासिल हुन नसकेको उल्लेख गरिएको छ। ‘१२ वर्ष अघि ठूलो उत्साहका साथ पार्टी पुनर्गठन गरिएको भए पनि क्रान्ति सम्पन्न हुन सकेन, बरु सामान्य आशातित उपलब्धि समेत हासिल हुन नसकेको अवस्था जगजाहेर छ,’ विज्ञप्तिमा भनिएको छ ।
नेतृत्वले एकीकृत जनक्रान्तिको कार्यदिशामाथि समीक्षा गर्न नचाहेको र फरक मत राख्ने नेताहरूलाई निषेध गरेको उनीहरूको आरोप छ । विशेषगरी केन्द्रीय सचिवालय सदस्य उमा भुजेल ‘शिलु’ लाई जिम्मेवारीमुक्त गरिएको र पीबीएम चन्द्र बहादुर खड्का ‘असल’लाई पार्टीबाट निष्कासन गरिएको घटनाप्रति उनीहरूले कडा आपत्ति जनाएका छन् ।
राजीनामा दिने नेताहरू यस प्रकार रहेका छन्:
१. सञ्जीव मगर (केन्द्रीय सदस्य तथा खोटाङ जिल्ला इन्चार्ज)
२. कमल केसी (केन्द्रीय सदस्य तथा पूर्व जिल्ला इन्चार्ज, नवलपरासी)
३. जनक राउत (केन्द्रीय सदस्य तथा सिराहा जिल्ला इन्चार्ज)
४. गोपाल भोलन (केन्द्रीय सदस्य तथा पूर्व जिल्ला इन्चार्ज, सिन्धुपाल्चोक)
५. निशान (केन्द्रीय सदस्य तथा तनहुँ जिल्ला इन्चार्ज)
६. कपिल भट्ट (केन्द्रीय सदस्य तथा गोरखा जिल्ला इन्चार्ज)
७. दुर्गा तामाङ ‘प्रेरणा’ (केन्द्रीय सदस्य तथा तामाङ मोर्चा केन्द्रीय संयोजक)
८. धिरज राना (केन्द्रीय सदस्य तथा पाल्पा जिल्ला इन्चार्ज)
९. भिमसेन घिमिरे ‘विपिन’ (केन्द्रीय सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज)
१०. हेमन्त चौधरी (केन्द्रीय सदस्य तथा पूर्व जिल्ला इन्चार्ज, कपिलवस्तु)
११. नवीन सुवेदी ‘दिवाकर’ (पूर्व जिल्ला इन्चार्ज, नुवाकोट)
१२. रवि गोले (पूर्व जिल्ला सेक्रेटरी, सिन्धुली तथा काठमाडौँ उपत्यका सचिव)



