काठमाडौं । असार ६ गते
काठमाडौंको बानेश्वरस्थित काठमाडौं ब्याङ्क्वेटमा आयोजित नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय एकता भेला सम्पन्न भएको छ।
भेलाको उद्घाटन नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपाल ले गरेका थिए। कार्यक्रमको अध्यक्षता नेपाल बुद्धिजीवी संगठनका अध्यक्ष कृष्ण केसीले गरेका थिए। कार्यक्रममा संगठनका इन्चार्ज जगन्नाथ खतिवडा लगायतका नेताहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै सह–संयोजक नेपालले यसपटकको निर्वाचनबाट अपेक्षा नगरेको परिणाम आएको उल्लेख गर्दै पार्टीले आत्मचिन्तन र गम्भीर समीक्षा गर्नुपर्ने बताए। उनले पार्टी निर्माण र सुदृढीकरणमा बुद्धिजीवी संगठनको भूमिका महत्वपूर्ण हुने धारणा व्यक्त गरे।
उनले राष्ट्रको हितको रक्षा, परिवर्तन र रूपान्तरणको पक्षमा स्पष्ट सोचसहित अघि बढ्नुपर्ने भन्दै सबै क्रान्तिकारी शक्तिहरूलाई गोलबन्द गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा संगठन विभाग प्रमुख वर्षमान पुन ले जनतालाई सही ढङ्गले प्रशिक्षित र संगठित गर्न सके कम्युनिस्ट शक्ति पुनः स्थापित हुने विश्वास व्यक्त गरे।
उनले आगामी दिनमा जनतासँगको सम्बन्ध बलियो बनाउँदै नयाँ आन्दोलनको आधार तयार गर्न प्रशिक्षण र वैचारिक अभियान आवश्यक रहेको बताए। क्रान्तिकारी विचारको निरन्तरता कमजोर भएमा आन्दोलनबाट माथि उठेका वर्गहरू नै प्रतिक्रान्तिको पक्षमा जान सक्ने जोखिम रहने उनको भनाइ थियो।
भेलाले नेपाल बुद्धिजीवी संगठनको नेतृत्वमा कृष्ण केसीलाई संयोजक, भगिरथ न्यौपानेलाई सह–संयोजक र सीताराम घलेलाई सह संयोजकको जिम्मेवारी दिने निर्णय गरेको छ।

