काठमाडौं। नेकपाका सहसंयोजक माधवकुमार नेपालले केवल भावनात्मक अभिव्यक्ति र चर्चाका भरमा कम्युनिस्ट एकता सम्भव नहुने बताएका छन्। उनले यथार्थको धरातलमा उभिएर गम्भीर छलफल, बहस र आत्मसमीक्षापछि मात्रै एकताको आधार तयार हुन सक्ने धारणा व्यक्त गरे।
मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले आइतबार राष्ट्रियसभा गृहमा आयोजना गरेको गोष्ठीलाई सम्बोधन गर्दै नेपालले कम्युनिस्ट एकताको विषयलाई लिएर भइरहेका चर्चा र अड्कलबाजीप्रति असन्तुष्टि जनाए।
‘अहिले खुब चर्चा हुन्छ—कम्युनिस्ट पार्टी आजै मिल्छ, भोलि मिल्छ, बिहानै मिल्छ, बेलुकै मिल्छ। यो प्रश्नको जवाफ दिँदादिँदा मेरो पनि दिमाग खराब भइसकेको छ,’ उनले भने, ‘मैले त्यस्तो अवस्था देखिरहेको छैन। जसले देख्नुभएको छ, उहाँहरूले नै अगाडि बढेर इतिहास बनाउन सक्नुपर्छ।’
नेपालले कम्युनिस्ट आन्दोलनभित्र देखिएका कमजोरी र विकृतिहरूप्रति आत्ममन्थन आवश्यक रहेको बताए। ‘मै हुँ भन्ने प्रवृत्ति, भ्रष्टाचारीकरणको प्रवृत्ति र जनताबाट टाढिने प्रवृत्तिले हामी समाज र जनताको मनोविज्ञान बुझ्न सकेनौँ,’ उनले भने, ‘बदलिँदो सामाजिक यथार्थ र जनताको सोचलाई आत्मसात् गर्न नसक्नु हाम्रो कमजोरी हो।’
उनले कुनै एक दलले मात्रै होइन, सम्पूर्ण कम्युनिस्ट शक्तिहरूले आफ्नो विगतको समीक्षा गर्दै आत्मसुधारको बाटो अपनाउनुपर्नेमा जोड दिए। उनका अनुसार कम्युनिस्ट एकता नाराभन्दा पनि व्यवहार, आत्मसमीक्षा र साझा समझदारीबाट मात्र सम्भव हुन्छ।

