नेता पौडेललाई तत्काल रिहा गर्न सांसाद कँडेलको माग
काठमाडौँ । नेकपा (एमाले)का सांसद पुष्पराज कँडेलले एमाले उपाध्यक्ष एवम् पूर्व अर्थमन्त्री विष्णु पौडेलको पक्राउ राजनीतिक प्रतिशोधबाट प्रेरित भएको आरोप लगाएका छन्।
प्रतिनिधिसभाको आइतबारको बैठकमा धारणा राख्दै सांसद कँडेलले सरकारले राजनीतिक पूर्वाग्रहका आधारमा पौडेललाई पक्राउ गरेको दाबी गरे।
उनले गत निर्वाचनमा पौडेलका प्रतिस्पर्धी तथा वर्तमान प्रधानमन्त्रीलाई सवारीसाधन उपलब्ध गराउने व्यक्तिको बयानका आधारमा पक्राउ गरिएको भन्ने समाचार सार्वजनिक भएको उल्लेख गर्दै यसलाई राजनीतिक प्रतिशोधको निरन्तरता भएको बताए।
कँडेलले गत चैतमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीमाथि गरिएको कारबाहीकै अर्को रूपका रूपमा पौडेलको पक्राउ भएको आरोप लगाए। उनले सरकारले विपक्षी दल र तिनका नेताहरूलाई तर्साउने तथा आफ्ना निकटकालाई उन्मुक्ति दिने उद्देश्यले काम गरिरहेको दाबी गरे।

‘विष्णु पौडेल निर्दोष हुनुहुन्छ। उहाँमाथि राजनीतिक प्रतिशोध साँधिएको छ। उहाँलाई तत्काल रिहा गरिनुपर्छ,’ कँडेलले माग गरे।
त्यसैगरी, उनले गत जेठ १७ गते प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको अभिव्यक्तिलाई ‘राष्ट्रघाती’ भन्दै उक्त अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन पनि सभामुखमार्फत माग गरेका छन्।

