काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक **पुष्पकमल दाहाल ‘प्रचण्ड’**ले नेपालको कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्ने र समाप्त गर्ने उद्देश्यले ठूलो षड्यन्त्र भइरहेको दाबी गरेका छन्। उनले देशको राष्ट्रिय स्वाधीनता नै संकटमा परेको भन्दै वामपन्थी शक्तिहरूबीच तत्काल सहकार्य र एकताको आवश्यकता औँल्याएका छन्।
आइतबार ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै दाहालले विदेशी दबाब, फासीवादी प्रवृत्ति र बाह्य हस्तक्षेपविरुद्ध लड्न कम्युनिस्टहरू एक ढिक्का हुनुको विकल्प नरहेको बताए।
उनले दक्षिण एसिया र छिमेकी मुलुकहरूमा कम्युनिस्ट शक्तिहरूलाई समाप्त गरिएको घोषणा भइरहेका सन्दर्भ उल्लेख गर्दै नेपालमा पनि त्यस्तै प्रतिक्रियावादी गतिविधि भइरहेको दाबी गरे।
‘नेपालजस्तो देशमा कम्युनिस्ट आन्दोलनको यो जबर्जस्त प्रभावलाई कसरी समाप्त गर्न सकिन्छ भन्ने सोचका साथ दुनियाँभरिका प्रतिक्रियावादी शक्तिहरू लागिरहेका छन्,’ उनले भने, ‘त्यही षड्यन्त्रको परिणामस्वरूप विभिन्न घटनाक्रमहरू विकसित भइरहेका छन्, जसलाई हामीले देखिरहेका छौँ।’
प्रचण्डले देशभक्त र वामपन्थी शक्तिहरूबीचको एकतामा कुनै ढिलाइ गर्न नहुनेमा जोड दिए। ‘सहकार्य आजै सम्भव छ भने आजै गरौँ, भोलि सम्भव छ भने भोलि नै गरौँ,’ उनले भने, ‘एकतामा ढिलाइ गर्ने मनसाय दुर्भाग्यपूर्ण हुन्छ। जति ढिला हुन्छ, दुर्घटना त्यति नै भयानक हुन सक्छ।’
उनले विगतमा कम्युनिस्ट शक्तिहरू एकजुट हुँदा जनताले झण्डै दुई तिहाइ बहुमत दिएर अनुमोदन गरेको स्मरण गर्दै त्यो एकता किन टिक्न सकेन भन्ने विषयमा गम्भीर आत्मसमीक्षा आवश्यक रहेको स्वीकार गरे। उनका अनुसार विगतका कमजोरीबाट पाठ सिक्दै नयाँ आधारमा सहकार्य र एकताको प्रक्रिया अघि बढाउनुपर्ने समय आएको छ।

