काठमाडौं, असार २१।
नेपाली कम्युनिस्ट पार्टी उपत्यका प्रदेश समितिको एकता समायोजन बैठक तथा प्रशिक्षण कार्यक्रम काठमाडौंस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले प्रशिक्षकका रूपमा सम्बोधन गर्दै पार्टीको विगत, वर्तमान राजनीतिक अवस्था र आगामी कार्यदिशाबारे प्रशिक्षण दिनुभएको थियो।
प्रशिक्षणका क्रममा संयोजक प्रचण्डले कम्युनिस्ट आन्दोलनको योगदानका कारण मुलुकले महत्वपूर्ण राजनीतिक उपलब्धिहरू हासिल गरेको उल्लेख गर्दै त्यसक्रममा पार्टीबाट केही गम्भीर कमजोरीहरू पनि भएको स्वीकार गर्नुभयो।
उहाँले, “हाम्रो कारणले मुलुकले थुप्रै उपलब्धि हासिल गर्यो। तर हामीबाट थुप्रै कमजोरी पनि भए। हामीले वर्ग बिर्सियौँ, मुख्य रणनीति बिर्सन गयौँ,” भन्दै पार्टीले आत्मसमीक्षा गर्दै सही राजनीतिक दिशामा अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
उहाँले वर्तमान राजनीतिक अवस्थाप्रति टिप्पणी गर्दै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) नेतृत्वको कार्यशैलीबाट संविधानमाथि प्रहार भएको तथा विभिन्न मौलिक अधिकारहरू कटौती हुने अवस्था सिर्जना भएको आरोप समेत लगाउनुभयो।
प्रचण्डले पार्टीलाई वैचारिक रूपमा सुदृढ, संगठनात्मक रूपमा एकताबद्ध र जनतासँग थप जोड्ने दिशामा अघि बढ्नुपर्नेमा जोड दिँदै वर्गीय राजनीति, जनसंघर्ष र समाजवादी लक्ष्यलाई केन्द्रमा राखेर अघि बढ्न कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो।
कार्यक्रममा उपत्यका प्रदेश समितिका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। बैठकमा पार्टीको एकता समायोजन, संगठन विस्तार, वैचारिक प्रशिक्षण तथा आगामी राजनीतिक कार्यक्रमका विषयमा समेत छलफल भएको बताइएको छ।

