काठमाडौँ । यस वर्षको ‘आदिकवि भानुभक्त पुरस्कार’ वरिष्ठ साहित्यकार तथा महाकाव्यकार भुवनहरि सिग्देललाई प्रदान गरिने भएको छ।
आज मंगलवार बसेको शिक्षा परिषदको प्रबन्ध समितिको बैठकले परिषद्का अध्यक्ष रमा शर्माको अध्यक्षतामा उक्त निर्णय गरेको हो।
पुरस्कारको राशि रु. १ लाख २५ हजार रहेको छ। राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीका अवसरमा यही असार २९ गते अपराह्न काठमाडौँमा आयोजित विशेष समारोहबीच पुरस्कार समर्पण गरिने परिषद्ले जनाएको छ।
परिषद्ले ‘आदिकवि भानुभक्त पुरस्कार’ वि.सं. २०५२ सालदेखि प्रत्येक वर्ष भानु जयन्तीका अवसरमा प्रदान गर्दै आएको छ। नेपाली भाषा, साहित्य तथा महाकाव्य लेखनमा पुर्याएको विशिष्ट योगदानको कदरस्वरूप साहित्यकार सिग्देललाई यस वर्ष उक्त सम्मान प्रदान गर्न लागिएको हो।
साहित्यकार सिग्देलका सारङ्गी, अद्भुत, धनञ्जय, सुरासुन्दरी, आमोई, मनस्विनी, लालस, मनका सयपत्री, रमिलानानी,, जदौ मालिकजस्ता उपन्यास प्रकाशित छन् । कविताकृति बहत्तर वसन्तका स्रस्टा सिग्देलका साँखेजुङको उकालो जीवनाख्यान समेत प्रकाशनमा छ । खण्डकाव्य त्रयोदस र आरोहण महाकाव्य संयुक्त लेखनमा प्रकाशित कृति हुन् ।
उनका तीन दर्जनजति कृति प्रकाशित छन् ।
स्रष्टा सिग्देललाई हाम्रो तर्फबाट पनि हार्दिक बधाई तथा सफल सिर्जनात्मक यात्राको लागि शुभकामना !

